महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कार्य तीव्र
सांकेतिक तस्वीर
कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । वर्ष दिनमा छ महिना (पुसदेखि जेठसम्म) कामले गति लिने गरेको बताउँदै पुल निर्माण कम्पनीले रातिको समयमा पनि कामलाई निरन्तरता दिँदै आएको जनाएको छ । महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले पुलको ३७ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ ।
चार लेनको पुलसँगै छ लेनको सडक र सडक पहुँच मागको निर्माण पनि धमाधम भइरहेको छ । पुल निर्माण कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सिएफसि) का इञ्जिनीयर किशोरराज पाण्डेयले हिउँदमा कामले गति लिने गरेको भए पनि महाकालीको पानीको ठेगान नहुँदा काममा समस्या आउने गरेको बताए।
“बिहान ठिकठाक काम गर्दा सवारीसाधन आवतजावत गरिरहेका हुन्छ”, उनले भने, “भारतीय पक्षले एक्कासि माथि उत्तरतर्फ रहेको शारदा ब्यारेजमा पानी छोडिदिँदा काम नै प्रभावित हुनेगर्छ ।” पुलको पहुँच मार्गअन्र्तगत पारि महाकाली नगरपालिकातर्फ केही स्थानीयको जग्गाको मुआब्जाको विवाद सिर्जना हुँदा पहुँच मार्ग बन्न सकिरहेको छैन । महाकालीपारि करीब डेढ किलोमिटर छ लेनको सडक बन्ने योजनामा रहेको छ ।
तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारको लगानीमा निर्माण भइरहेको पुलको अहिले केही भाग छत ढलानका लागि तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । “स्ल्याप ढलानको तयारीदेखि पाइल खन्ने काम एक साथ अगाडि बढेको छ”, इञ्जिनीयर पाण्डेयले भने, “वर्षातमा बाढीले काम स्थगन हुँदै आएको छ ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment