ठूलो आन्दोलन गरेर संविधान फेर्छु भन्नेतिर नलाग्नुस्

डिसी नेपाल
८ पुष २०७६ २०:०२

काठमाडौं। नेपालका लागि भारतीय राजदूत मंजिभ सिंह पुरी आफ्नो कार्यकाल पूरा गरी विदाई भेटमा व्यस्त छन्। उनले आज मात्रै प्रधानमन्त्री केपी ओलीसँग विदाइ भेट गरेका थिए। उनको यो भेट बारेको तस्वीर सार्वजनिक भएपनि मधेस केन्द्रित दलका नेतासँगको उनको भेट विदाइ भेट निकै गोप्य राखियो।

आइतबार अपरान्ह तीन बजेसम्म दुई घण्टा छानिएका केही मधेसी नेताहरुसँग उनको गोप्य भेटघाट याक एण्ड यती होटलको एउटा कक्षमा भएको थियो। केही बेर प्रमुख नेताहरुसँग भेट गरेपछि राजपाका छानिएका कार्यकर्ताहरुसमेत संलग्न विदाइ कार्यक्रममा राजदूत पुरी सहभागी भएका थिए।

स्रोतका अनुसार राजदूत पुरीले कुनै उथल पुथल ल्याउने ठूलो आन्दोलन गर्छु र यो संविधान फेर्छु भन्नेतिर नलाग्न मधेसी नेताहरुलाई सुझाएका थिए।

उनले भनेका थिए–जे जस्तो छ, संविधान बनिसकेको छ, यो पूर्ण छ भनेर म भन्दिन। कमजोरी होलान्, घटिबढी होला, तर तपाईँहरुले यसै (संविधान) लाई लिएर हिँड्नुपर्छ।’ उनले सो भेटमा हाल नेपालको संविधान र मधेसी दलको अवस्थालाई एउटा गाडीसँग तुलना गरेर सुनाएका थिए।

जे जस्तो छ, संविधान बनिसकेको छ, यो पूर्ण छ भनेर म भन्दिन। कमजोरी होलान्, घटिबढी होला, तर तपाईँहरुले यसै (संविधान) लाई लिएर हिँड्नुपर्छ।

उनले चलिरहेको गाडीको चालकलाई विश्वासमा लिएर त्यो गाडीलाई आफूले चाहेको बाटोतिर हिँडाउन सक्नु पर्ने सुझाव दिएका थिए। उनले यो सुझाव दिनुअघि मधेस नेताहरुका तर्फबाट राष्ट्रय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेपालमा आफूले चाहे जस्तो केही नभएको राजदूतसँग गुनासो गरेका थिए।

र, आगामी दिनमा भारतको साथ पनि चाहिएको बताएका थिए। बोल्दा बोल्दै निकै भावुक भई गला अबरुद्ध पारेका महतोले आफूहरुका हरेक अप्ठेरोमा भारतले साथ दिएको भन्दै राजदूत पुरीलाई धन्यवाद दिएका थिए।

बोल्ने क्रममा उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी एजेण्डामा आफूहरुलाई सधैं धोका दिएको गुनासो पनि गरेका थिए। महतोले भारतको साथ फेरि खोजेपछि राजदूत पुरीले यस्तो सुझाव दिएका थिए।

उनको सुझावले नेपालको वर्तमान संविधानमाथि भारतको दृष्टिकोण फेरिएको संकेत गरेको छ। संविधान जारी गर्नु अघि मधेसीको मागलाई सम्वोधन गर्न विशेष दूत पठाएरै दबाव दिएको भारतले संविधान जारी गरेपछि त्यसलाई स्वागत नगरी नोटिसमा लिएको भनी विज्ञप्ति जारी गरेर असन्तुष्टि व्यक्त गरेको थियो।

यति मात्रै होइन नेपाललाई दबाव दिनका निम्ति तराईमा मधेसी दलहरुको आन्दोलनलाई साथ दिँदै नेपालमा आउने सबै आपूर्ति बन्द गरेर ६महिना लामो नाकाबन्दी लगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *