सर्लाहीमा इन्दुशङ्कर चिनी उद्योग शुक्रबारदेखि सञ्चालनमा

डिसी नेपाल
१० पुष २०७६ ६:५२

सर्लाही । हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण शुरु गरेको छ।

चलान पुर्जी वितरण शुरु भएसंँगै किसानले धमाधम उखु काट्न थालेका छन्। उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण शुरु गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए।

गत सालको तुलनामा यस वर्ष अलि चाँडै उखु कटानको चलान पूर्जी वितरण थालिएको हो । उद्योगमा गत मङ्सिरमा नै डोंगा पूजा गरेर उद्योग सञ्चालनको तयारी गरिएको थियो।

चालु याममा करीब ४८ लाख क्विन्टल उखु उत्पादन गरिए पनि ३५ लाख क्विन्टल उखु उद्योगले कटान गर्ने लक्ष्य राखेको उद्योगका उखु प्रबन्धक रजकले जानकारी दिए ।

गत वर्ष माघ १ गतेदेखि सञ्चालन शुरु गरी चैत १५ गतेसम्म उद्योगले ३५ लाख क्विन्टल उखु पेलेको थियो।

सरकारले अहिलेसम्म उखुको मूल्य निर्धारण नगरेको भए पनि उद्योगले किसानसँग सहमति गरी गत वर्षको मूल्य निर्धारण गरेर कटाउन चलान पूर्जी वितरण गरेको हो।
शुक्रबारदेखि उद्योग सञ्चालन शुरु गरिने उद्योगका उखु प्रबन्धक रजकले बताए । चालु यामका लागि उद्योगले उखुको मूल्य रु ४७१ र पैसा २८ तोक्दै सरकारको अनुुदानवापत किसानलाई रु ६५ र पैसा २८ उपलब्ध गराउने निर्णय गरेको छ।

चिनी उद्योगीले चिनीको मूल्य अत्यन्त कम भएकाले किसानलाई उक्त मूल्य दिन नसकिने भन्दै उद्योग चलाउन आलटाल गर्दै आएका थिए।

सरकारकोे योजनानुसार चिनी उद्योग सञ्चालनमा आलटाल भएकाले यही पुस ६ गते किसान र उद्योगबीच बसेर छलफल भएपछि उद्योगले उखु कटान चलान पुर्जी शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

उद्योगहरुले उखु कटानको चलान पुर्जी वितरण शुरु गरेपछि किसानलाई उखु काट्न हतार भएको उनले बताए ।

यस वर्ष सर्लाही जिल्लामा करीब १७ हजार हेक्टरमा उखु खेती लगाइएको छ । सर्लाही नेपालकै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो।

सर्लाहीबाट महोत्तरी, रौतहट, बारालगायत जिल्लाका चिनी उद्योगमा समेत उखु गएको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *