अमेरिका–इरानको बढ्दो तनावले नेपालमा के असर गर्छ ?

डिसी नेपाल
१९ पुष २०७६ १२:२१

काठमाडौं। अमेरिकाले शुक्रबार बिहान इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी इरानको रिभोल्युशनरी गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्यो । आक्रमणपछि अमेरिकाले यो आक्रमण विदेशमा रहेका अमेरिकी नागरिकको रक्षा गर्न र इरानले गर्न सक्ने सम्भावित आक्रमणलाई रोक्न गरिएको दावी गरेको छ । इरानले भने अमेरिकालाई यो हत्याको बदला लिने चेतावनी दिएको छ । मध्यपूर्वमा बढ्दो यो तनावले बाँकी विश्वमा र खासगरी नेपालमा कस्तो असर पर्छ भन्नेतर्फ अहिले तमाम नेपालीको चासो बढेको छ ।

अमेरिका र इरानका बीचमा तनाव नयाँ होइन तर सुलेमानीको हत्यापछिको बिग्रँदो परिस्थितिले भने धेरै कठिन परिस्थिति सृजना हुन सक्ने संकेत गरेको छ । अब सृजना हुने परिस्थितिले बाँकी विश्वसहित नेपाल पनि नराम्रोसँग प्रभावित हुन सक्छ । यसअघि पनि अमेरिका र इरानबीच तनाव बढ्दा फारसको खाडीमा गम्भीर परिणाम देखिएका छन् । फारसको खाडीमा गडबडी भयो भने यसको परिणाम पूरै विश्वले भोग्नुपर्छ । यदि फारसको खाडीमा गडबडी भयो भने यसको परिणामस्वरुप नेपालको अर्थतन्त्र अस्तव्यस्त हुने मात्र होइन नेपालले थेग्नै नसक्ने परिस्थिति पनि सृजना हुन सक्छ ।

फारसको खाडीमा इरान शक्तिशाली छ र यो खाडी यस्तो ठाउँ हो जसले सिंगो विश्व हल्लाउन सक्छ । यहाँ समुद्रमा ‘स्ट्रेटस अफ हर्मुज’ नामको क्षेत्र छ जो इरानको कब्जामा छ । अहिले अमेरिकाले आफ्ना सेना प्रमुख मारेको बदलामा इरानले हर्मुजलाई बन्द गरिदिन सक्छ । हर्मुज बन्द हुनु भनेको सिंगो संसारभर हाहाकार मच्चिनु हो किनकि विश्वभर सप्लाइ हुने पेट्रोलियम पदार्थ अरबबाट बाहिरिने मुख्य बाटो नै यही हो ।संसारभरको तेल धमनी मानिने हर्मुज बन्द भयो भने संसारभरको तेल सप्लाइ प्रभावित हुनेछ । यदि इरानले हर्मुज बन्द गरिदियो भने विश्वभर तेलको हाहाकार मच्चिने निश्चित छ किनकि ठूलो परिमाणमा तेल निर्यात गर्ने ६ वटा खाडी देशले यही बाटो भएर तेल निर्यात गर्छन् ।

इन्धनको सबैभन्दा धेरै खपत हुने देशमध्येको एक अमेरिका भएकोले अमेरिकालाई सोझो प्रभाव पर्ने तेल बन्द गर्नु इरानको लागि अमेरिकासँग बदला लिने सबैभन्दा सजिलो विकल्प हुन सक्छ । त्यसैले इरानले हर्मुज बन्द गर्न सक्ने सम्भावना बलियो छ । साउदी अरब, इराक, युएइ, कुवेत, कतार र इरानको अधिकांश तेल निर्यात हर्मुजको बाटो भएरै हुन्छ । यहाँबाट प्रत्येक दिन करिब १ करोड ५० लाख ब्यारल तेल बाहिरिन्छ । यदि यो बन्द भयो भने सबैभन्दा धेरै इन्धन खपत गर्ने अमेरिकासहितका देशहरुमा तेलको हाहाकार हुनेछ । यसले तेलको मूल्य त बढ्छ नै साथमा खाडी देशहरुबीचको सम्बन्ध बिग्रिनेछ र संघर्षको स्थिति उत्पन्न हुनेछ । अमेरिका र इरानबीचको अहिलेको तनावले अर्को खाडी युद्धको समेत संकेत गरेको छ । यदि यस्तो भयो भने यसको सोझो प्रभाव नेपालमा पर्नेछ ।

खाडी देशको तेल सप्लाइ बन्द हुनासाथ नै नेपालमा यसको सोझो प्रभाव पर्छ किनकि नेपालको अर्थतन्त्रको ठूलो हिस्सा तेलमा आधारित छ । झट्ट हेर्दा नेपालको अर्थतन्त्र प्रत्यक्ष रुपमा तेलमा आधारित देखिँदैन तर परोक्ष रुपमा भने नेपालको अर्थतन्त्रको ठूलो हिस्सा तेलले धानेको छ । त्यो कसरी भने नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धानेको छ र नेपाल भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा तेलले धानेको छ । नेपाल भित्रिने अधिकांश रेमिट्यान्स नेपाली युवाले खाडी मुलुकमा काम गरेर कमाउँछन् । ती देशहरुको मुख्य आयस्रोत नै तेल हो ।

यी खाडी देशको तेल सप्लाइ बन्द हुनासाथ उनीहरुको अर्थतन्त्र धराशायी हुन्छ । यी देशमा अधिकांश नेपाली कामदारहरु निर्माण मजदुर छन् । यी देशको अर्थतन्त्र तेलका कारण बलियो छ, तेलबाट उनीहरुले ठूलो कमाइ गरेका छन् र त्यही कमाइ विकास निर्माणमा लगानी गरेका छन् । त्यही निर्माणको काममा नेपाली मजदुरले काम पाएका छन् । तेल निर्यात प्रभावित भएर यी देशको आयस्रोत घट्नासाथ यसको सोझो प्रभाव उनीहरुको विकास बजेटमा पर्नेछ । बजेटमा धक्का लाग्नासाथ यी देशको विकास निर्माणको काम घट्नेछ र रोजगारीको अवसर पनि स्वतः कटौती हुनेछ । रोजगारीको अवसर कटौती हुनासाथ नेपाली कामदारको कमाइ पनि स्वतः घट्नेछ ।

अर्कोतर्फ इरानका कारण आफूहरुको अर्थतन्त्र नै धराशायी भएपछि यी देशहरु चुप लागेर बस्ने छैनन् । उनीहरुको इरानसँग सम्बन्ध बिग्रिनेछ र संघर्षको स्थिति आउन सक्छ । अमेरिकी आक्रमणपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वले अर्को खाडी युद्ध सहन नसक्ने बताइसकेका छन् । यसको अर्थ अमेरिकी आक्रमणपछि खाडी युद्ध हुन सक्ने डर राष्ट्रसंघलाई पनि लागिसकेको छ । यदि यहाँ युद्धको स्थिति आयो भने त्यसले विश्वलाई त प्रभाव पार्ने नै छ । नेपालको हकमा यसले दोहोरो प्रभाव पार्नेछ ।

पहिलो तेलको आपूर्ति बन्द हुनासाथ यसको मूल्यमा अत्याधिक वृद्धि हुनेछ । नेपालको बजार तेलमा निर्भर रहेको र तेलको मूल्य बढ्नासाथ सबथोकको मूल्य बढ्ने भएकोले नेपाली बजारमा अत्याधिक महंगो बढ्नेछ । त्यही बेला नेपाली आम उपभोक्ताको क्रयशक्ति घट्नेछ किनकि खाडी क्षेत्रमा संघर्षको स्थिति उत्पन्न हुनासाथ त्यहाँ रहेका नेपाली त्यहाँ रहिरहन सक्ने स्थिति हुने छैन । खाडीमा रोजगारीमा रहेका नेपाली नेपाल फर्किनुपर्ने स्थिति आउनेछ । यस्तो अवस्थामा ठूलो संख्यामा नेपालीहरु बेरोजगार भएर स्वदेश फर्किनु परेपछि नेपालकै स्थिति अस्तव्यस्त हुनेछ ।

नेपालले यति ठूलो संख्यामा नेपालीहरुलाई रोजगारीको अवसर सृजना गर्न सक्ने अवस्था छँदै छैन । नेपालमा बेरोजगारको संख्या अत्याधिक हुने, उपभोक्तासँग पैसा नहुने र बजारमा अत्याधिक मूल्यवृद्धिको कारण नेपालको स्थिति कतिसम्म भयावह हुन सक्छ भन्ने अहिले कल्पना समेत गर्न सकिन्न । त्यो स्थितिमा नेपालमा गैरकानुनी र आपराधिक क्रियाकलाप ह्वात्तै बढ्ने र दण्डहीनताको स्थिति सृजना हुने समेत खतरा रहन्छ । यसै त गरिब देश त्यसमाथि अर्थतन्त्र अस्तव्यस्त हुँदा नेपालको स्थिति निकै भयावह हुन सक्छ ।

संयुक्त राष्ट्रसंघसहित विश्वका शक्तिशाली राष्ट्रहरुले फेरि खाडी युद्ध हुन सक्ने खतरा महसुस गरी अहिले नै त्यसलाई रोक्न सबैलाई आह्वान गरिसकेका छन् । यो युद्धले सिंगो विश्व प्रभावित हुने कुरामा दुईमत छैन त्यसैले सबैको चासो र चिन्ता खाडी युद्ध हुनबाट रोक्नुमै केन्द्रित छ । यस्तो अवस्थामा नेपालले समेत जसरी हुन्छ यो युद्धलाई रोक्नेतर्फ पहल गर्नु जरुरी भइसकेको छ । नेपाल सरकारले पनि कुटनैतिक पहल गर्दै खाडी युद्ध रोक्ने अभियानमा ऐक्यबद्धता जनाउनुपर्ने अवस्था आइसकेको छ र यसतर्फ सरकारले कुटनैतिक पहल गर्नेछ भन्ने आम नागरिकको अपेक्षा हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *