भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
पन्ध्र सडक बालबालिकाको उद्धार
झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ। प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो।
बालबालिकाको उद्धार गर्न प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित अधिकारी दमकको चोक, बजारका सडकमा पुगेका थिए ।
सडक बालबालिकालाई नेपाल प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रको सहयोगमा उद्धार गरिएको जनाइएको छ ।
उद्धार टोलीमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, दमक प्रहरी प्रमुख बिजयराज पण्डितलगायत सहभागी थिए ।
प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने अभियान शुक्रबार धरानबाट शुरु भएको र प्रदेशका मुख्य शहरमा त्यस अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव राईले बताए ।
उद्धार गरिएका सडक बालबालिकालाई पुनःस्थापना र पुनःवास कार्यक्रमअन्तर्गत पुनः सडकमा आउन नदिने अभियानको लक्ष्य रहेको उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment