सञ्चालनमा नआउँदै थन्किन थाले एम्बुलेन्स

डिसी नेपाल
२४ पुष २०७६ ११:११

डोटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन्।

सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ।

डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए ।

उनले मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको जानकारी दिए ।

उनले भने, “नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु।” मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताए ।

उनले भने, “एम्बुलेन्स पुराना छन्, रङ रोगनले मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डरलाग्छ।”

मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन् । ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ।

निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ । कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरुको छ।

एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो छ।

मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे ।

उनले भने, “एम्बुलेन्समा ब्रेकको समस्या भएको गुनासो आउने गरेको छ, हामीले मर्मतका लागि सिप्रदी ट्रेडर्समा पठाउने गरेका छौँ।”

चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन्।

मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *