के हुन् एनआरएनए आईसीसीको पोखरामा बस्ने ‘फेस टू फेस मिटिङ’का एजेण्डा ?

डिसी नेपाल
२९ पुष २०७६ १७:५२

काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) को गण्डकी प्रदेशको पोखरामा यहि जनवरी १८ र १९ तारिख २ दिनसम्म ‘फेस टु फेस मिटिङ’ हुँदैछ । गत डिसेम्बर २१ तारिख बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतीय बैठकले पोखरामा प्रत्यक्ष बैठकको आयोजना गर्ने निर्णय गरेको थियो।

संघका महासचिव डा. हेमराज शर्माकाअनुसार देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधिलाई प्रदेशस्तरसम्म पुर्याउन पहिलो पटक संघको बैठक काठमाडौँ बाहिर आह्वान गरिएको हो। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यसहित यो वर्ष संघका गतिविधिहरू पनि नेपाल केन्द्रित हुने उनको भनाइ छ । आन्तरिक बैठक मात्रै नभई संघद्वारा आयोजना गरिने अधिकांश गतिविधि पनि नेपाल केन्द्रित हुने उनले जनाए।

महासचिव डा. शर्माका अनुसार पोखरामा बस्ने यो प्रत्यक्ष बैठकले संघका विभिन्न विभागका प्रमुख र समितिका संयोजकहरूले कार्ययोजनाहरू प्रस्तुत गर्ने र त्यसैको आधारमा कार्य योजनालाई अन्तिम रूप दिदैँ वार्षिक कार्यतालिका तयार गरिनेछ। बैठकबाट संघका समिति र कार्यदललाई पनि पूर्णता दिइने छ। यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रियालगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

२ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

त्यस्तै संघले अघि सारेको १० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तिको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायतका सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरूसँग छलफल र परामर्श गर्ने विषयमा बैठकमा छलफल गरिनेछ।

संघले दोश्रो विज्ञ सम्मेलन काठमाडौँ विश्वविद्यालयमा आयोजना गर्ने सोच अघि सारेको छ। हालसम्म संघका सम्मेलनहरू विभिन्न होटलहरूमा गरिँदै आएका थिए । विश्वविद्यालयमा आयोजना गरिने विज्ञ सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितमूलक बनाउन विश्वविद्यालयका उपकुलपति लगायतका उच्चाधिकारीहरुसँग भेटघाट गर्ने सम्बन्धमा बैठकमा छलफल गरिनेछ । दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय, त्रिभुवन विश्‍वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा पनि पोखरा बैठकमा बहस गरिने महासचिव शर्माले बताए ।

बैठकमा गैरआवासीय नेपालीहरूको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको  ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन सम्बन्धमा विश्वका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुबाट संकलन गरिएका सुझावहरु संघको तर्फबाट नेपाल सरकारलाई पेश गरिने विषयमा छलफल गरिनेछ। त्यसैगरी बैठकमा वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गर्नै सम्बन्धमा बहस गरिनेछ ।

संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डीडीए) गराएको बताउँदै एमआईएस सिष्टमलगायत सिष्टम अडिट रिपोर्ट तयार हुन लागेको महासचिव शर्माले जानकारी दिएका छन्। डीडीए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने एनआरएनएले विश्वास लिएको छ। पोखरा बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबारे घनीभूत छलफल गर्ने एनआरएनएको तयारी छ।

गत अक्टोबरमा सम्पन्न संघको नवौं सम्मेलनमा आएका गैरआवासीय नेपालीहरुले देखाएको उच्श्रृंखल व्यवहारका कारण एनआरएनएको निकै आलोचना भएको थियो । निर्वाचन स्थलमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन अव्यवस्थित भएको थियो। सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरेर आफन्नो काम अगाडि बढाएको थियो । सोही विषयमा समेत यो बैठकमा विशेष छलफल गरिने बताइएको छ।

त्यस्तै ‘देशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गर्ने सम्बन्धमा पनि बैठकमा छलफल चलाइनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *