सुशासन प्रवद्र्धन गर्न सूचना प्रविधि केन्द्र सञ्चालन

डिसी नेपाल
१ फागुन २०७६ ७:३५

धनगढी । धनगढी उपमहानगरपालिका – १७ मा सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र क्यानडा सरकारका प्रतिनिधि जेनेट गडले बुधबार संयुक्त रुपमा सो केन्द्रको शुभारम्भ गरे ।

केन्द्रमा स्थानीयले उपमहानगरपालिकामा शुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली (आइएमएस) को प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

यस प्रणालीले उपमहानगरपालिकामा सञ्चालन हुने विस्तृत योजना, योजनाको गुणस्तर तथा प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे ‘मोबाइल एप्स’ मार्फत जानकारी प्राप्त गर्न सकिने र सुशासन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

नगरवासीको सजिलोका लागि सबै वडामा सूचना प्रविधि केन्द्र विस्तार गर्दै लैजाने सो अवसरमा नगर प्रमुख वडले जानकारी दिए ।

उनले भने, “योजनाको भौतिक आर्थिक प्रगतिका साथै सबैले प्रतिक्रिया गर्न पाउने व्यवस्थासमेत गरिएकाले नागरिक तहबाट समेत निगरानी गर्न सकिन्छ।”

क्यानडा सरकारका प्रतिनिधि गडले सूचना प्रविधि केन्दले उपमहानगरपालिकाको सुशासन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

धनगढी उपमहानगरपालिका–१५ र उपमहानगरपालिकाको कार्यालयमा क्यानडा सरकारको सहयोगमा सेसी परियोजनाअन्तर्गत सूचना प्रविधि केन्द्र यसअघिनै सञ्चालनमा छन्।

करेसाबारी प्रवद्र्धन

उपमहानगरपालिकाले तरकारी आयात रोक्न करेसाबारी प्रवद्र्धनात्मक कार्यक्रम शुरुआत गरेको छ। नगरवासीलाई निःशुल्क तरकारीको बीउ वितरणदेखि कृषि प्रविधि हस्तान्तरण गर्ने कार्य रहेका छन्।

उपमहानगरपालिकाले नगरवासीलाई कृषि परामर्श दिन लागि वडा तहमा प्राविधिक खटाएको जनाएको छ । कृषि महाशाखा प्रमुख लोकराज उपाध्यायले करेसाबारी प्रवद्र्धनका लागि १० हजार घरधुरीमा तरकारीको बीउ, ७५ वटा समूहलाई बीउबजन, नौवटा समूहलाई बीउबिजन, पम्पसेट, स्प्रेयर र तरकारी राख्ने क्रेट निःशुल्क उपलब्ध गराएको जानकारी दिए ।

त्यस्तै युवा लक्षित कार्यक्रमअन्तर्गत ३३ समूहमा बीउबिजन र संरचना निर्माणका लागि नगद पैशासमेत उपलब्ध गराएको बताइएको छ।

उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले करेसाबारीलाई प्रवद्र्धन गर्नसकेमा भारतबाट नेपालमा भित्रिने विषक्त तरकारीलाई न्यूनीकरण गर्न सकिने बताए ।

उनले भने, “त्यसैले उपमहानगरपालिकाले करेसाबारी प्रवद्र्धनात्मक कार्यक्रम शुरु गरेको हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *