काठमाडौँमा मूख्य स्थानमा स्तनपान कक्षसहित अपाङ्गता शौचालय बन्दै

डिसी नेपाल
१ फागुन २०७६ ९:१३

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ।

काठमाडौँ महानगरपालिका र सङ्घबीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो।

कलङ्की, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच वर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जनाइएको छ।

सम्झौताअनुसार शौचालय सञ्चालनमा आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम सङ्घले गर्नेछ।

ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ । यसरी सङ्कलन भएको शुल्कबाट व्यवस्थापन र मर्मतसम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च गरिने सङ्घका कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले जानकारी दिए।

सम्झौताअनुसार पहिलो चरणमा कलङ्की र कोटेश्वरमा निर्माण भएपछि बाँकी दुई स्थानको काम अघि बढाइने जनाइएको छ।

महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई वाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ।

त्यस्तै बच्चालाई डाइपर फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो।

चार वर्षदेखि सार्वजनिक शौचालय निर्माणबारे छलफल गर्दै आएको कामपाले पनि सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई सार्वजानिक शौचालय निर्माणमा पहिलो प्राथमिकतामा राखेको छ।

नयाँ शौचालय निर्माणसँगै मौजुदा सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने जनाइएको छ।

साथै पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा श्रेष्ठ जानकारी दिए।

यस्ता बनाउँदैछ एनआरएनएले काठमाडौँका चोकहरूमा सार्वजनिक शौचालय


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *