दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या दोब्बर

डिसी नेपाल
१० फागुन २०७६ १८:२७

बीबीसी । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रबारयता थप २२९ जनामा कोभिड–१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य उपमन्त्री किम गाङ(लिपले कोरोनाभाइरस प्रकोप एउटा गम्भीर चरणमा प्रवेश गरेको टिप्पणी गरेका छन्। अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ। त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने भय देखिएको छ। डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ। अहिले डाएगुमा सडकहरू लगभग रित्ता देखिन्छन्।

चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र मृत्यु हुने बिरामीको सङ्ख्या घटेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमित मानिसको सङ्ख्या बढेको छ।परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ। चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चिन्ता व्यक्त गरेका छन्।

उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर साँघुरिँदै गएको चेतावनी दिएका छन्। चीनमा अहिलेसम्म ७६,२८८ जनामा सङ्क्रमण भएको र २,३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर २६ देशमा १,२०० जनाभन्दा बढीमा सङ्क्रमण भएको र आठ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.