माथिल्लो तामाकोसीलाई असारभित्रमा विद्युत् उत्पादन गर्न निर्देशन

डिसी नेपाल
१५ फागुन २०७६ १४:२३

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी हाइड्रोपावरका अध्यक्ष कुलमान घिसिङले असारभित्र विद्युत उत्पादन गर्नेगरी काम गर्न निर्देशन दिएका छन्।

आयोजना अनुगमनका लागि दोलखा पुगेका उनले आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरुसँग संयुक्त रुपमा छलफल गरी निर्माण सम्पन्न हुने कार्यतालिकाबारेमा छलफल गरे।

‘निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतको चासो छ, जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले प्रतिवद्धताअनुसारका काम गर्नुहोला,’ घिसिङले भने।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ।

विद्युत गृहका सम्पूर्ण उपकरणहरु जडान भई तयारी अवस्थामा रहेका छन्। प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने कार्य सम्पन्न भएको छ।

त्यस्तै रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेसनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ। उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन संचालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ।

२०७२ को भूकम्प र त्यसपछिका बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको आयोजनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *