डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य सुरु, मन्त्री श्रेष्ठद्वारा शुभारम्भ
डोल्पा। डोल्पा जिल्लामा निर्माण भइरहेको १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले नयाँ गति लिएको छ। आयोजनाको मुख्य सुरुङ (मेन टनेल) निर्माण कार्यको औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका-४ इलामा आयोजित एक विशेष कार्यक्रमका बीच सुरुङ खन्ने कार्यको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व एवं लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा र आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। उनले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाहरूबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा ऊर्जा मन्त्रालयकी सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सकारात्मक सहयोग र सहभागिताले गर्दा आयोजनाको काम अघि बढाउन सहज भएको बताउँदै निर्माण कार्य समयमै फत्ते गर्न सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्ने धारणा राखिन्।
त्यस्तै, जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले यो आयोजना ऊर्जा उत्पादनसँगै कर्णालीको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको महत्त्वपूर्ण आधार बनेको बताए।
ऊर्जा मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको यो आयोजना मुलुककै नमूना परियोजनामध्ये एक रहेको उनको भनाइ थियो।
हाल लट वानको काम सम्पन्न भइसकेको यस आयोजना अन्तर्गत कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा दुईवटा परियोजना अघि बढाएको छ। जसमा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला-्ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्ध-जलाशययुक्त आयोजनाहरू विकास भइरहेका छन्।
विद्युत् उत्पादनका अतिरिक्त यस आयोजनाले डोल्पाको भौतिक पूर्वाधार विकासमा पनि उल्लेखनीय योगदान पुर्याएको कम्पनीको दाबी छ। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी-मुड्केचुला-जगदुल्ला सडकखण्डमा पहुँच मार्ग तथा १० वटा बेली पुलहरू निर्माण गरिसकेको छ। यी संरचनाहरूले आयोजनाको निर्माण कार्यलाई गति दिनुका साथै स्थानीय बासिन्दाको आवागमन र आर्थिक गतिविधिमा समेत प्रत्यक्ष सुधार ल्याएका छन्।






डिसी नेपाल





Facebook Comment