२४ घण्टामा दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा, १३ लाखभन्दा बढी राजस्व संकलन

डिसी नेपाल
१९ असार २०८३ ७:४०

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी बढाएसँगै पछिल्लो २४ घण्टामा दुई हजार ४२ जना चालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा नियम विपरीत सवारी चलाउनेहरूलाई कारबाही गर्दा राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी अन्य विविध सवारी नियम पालना नगर्ने एक हजार २४९ जना चालक कारबाहीको दायरामा आएका छन्। तीव्र गतिमा सवारीसाधन हुइँक्याउने १७३ जना तथा लेन अनुशासन पालना नगर्ने १२८ जना चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

पछिल्लो समय विना अनुमति सञ्चालन हुने ‘राइड सेयरिङ’ माथि गरिएको कडाइका क्रममा नियम विपरीत यात्रु ओसार्ने १२१ जना चालक कारबाहीमा परेका छन् । यसैगरी, ट्राफिक संकेत बत्ती (रेड लाइट) उल्लंघन गर्ने ८७ जना र निषेधित क्षेत्रमा जथाभाबी हर्न बजाउने ८७ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सडकपेटी (फुटपाथ) मा जथाभाबी पार्किङ गर्ने ८५ जना, मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५६ जना र एकतर्फी (वान वे) सडकमा सवारी गुडाउने ५६ जना चालकमाथि ट्राफिक प्रहरीले कडा कारबाही गरेको छ । उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक प्रहरीले आफ्नो जाँच अभियानलाई थप तीव्र बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *