‘अर्नब’ आँधी भयानक चक्रवातमा परिणत, विशाखापट्टनमतर्फ तीव्र गतिमा बढ्दै

डिसी नेपाल
१० कार्तिक २०८३ ११:२४

काठमाडौं । आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणले पश्चिम-मध्य बङ्गालको खाडीमा विकसित भएको ‘अर्नब’ नामक आँधी अत्यन्त गम्भीर चक्रवाती आँधीमा परिणत भएको जनाएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक प्रखर जैनले चक्रवात अर्णब प्रतिघण्टा २५ किलोमिटरको गतिमा अगाडि बढिरहेको जानकारी दिएका छन्।

बिबिसी तेलुगुका अनुसार यो आँधी विशाखापट्टनमबाट ३०० किलोमिटर, काकीनाडाबाट ३६० किलोमिटर, मछलीपट्टनमबाट ४६० किलोमिटर र बापटलाबाट ५३० किलोमिटर टाढा केन्द्रित थियो।

भारतीय मौसम विज्ञान विभागको बुलेटिनमा यो आँधी मङ्गलबार साँझसम्म पश्चिम-उत्तर-पश्चिम दिशातर्फ अगाडि बढिरहने जनाइएको छ।

एमडी जैनले चक्रवात अर्नब बुधबार बिहान यानम नजिकै बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा ठोक्किने प्रबल आशङ्का रहेको बताएका छन्।

उनका अनुसार चक्रवात अर्नबको प्रभावले मङ्गलबार र बुधबार राज्यभर व्यापक वर्षा हुनेछ भने केही स्थानहरूमा अति भारी वर्षा हुने अनुमान गरिएको छ।

तटीय क्षेत्रहरूमा प्रतिघण्टा ९० देखि १०० किलोमिटरको तीव्र गतिमा हावा चल्ने चेतावनी दिइएको छ। साथै, सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारत मौसम विज्ञान विभागले पनि मङ्गलबार बिहान ३ बजे चक्रवात अर्नबको स्थितिलाई लिएर बुलेटिन जारी गरेको छ।

विभागले यो आँधी निकै खतरनाक चक्रवातमा बद्लिसकेको र तटीय क्षेत्रमा ठोकिँदा यसको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर पुग्ने अनुमान गरिएको जनाएको छ।

आन्ध्र प्रदेशका तटीय क्षेत्रहरू र ओडिसाका दक्षिणी तटीय क्षेत्रहरूका लागि ‘रेड अलर्ट’ जारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *