भ्रष्टाचारीमाथि कारबाहीको माग गर्दै नेविसंघद्वारा देशव्यापी प्रदर्शन
काठमाडौं। प्रमुख प्रतिपक्षी दल निकट नेपाल विद्यार्थी संघले भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै देशभर प्रदर्शन गरेको छ। आइतबार नेविसंघले ७७ वटै जिल्लामा प्रदर्शन गरेको नेविसंघकी महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन्।
काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस आरआर, नेपाल ल क्याम्पस र विश्व भाषा क्याम्पसले संयुक्त प्रदर्शन गरेका छन्।
नेविसंघले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरेको हो।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेविसंघकी महामन्त्री उर्मिला थपलियाले सरकारले जनताको हितमा काम गर्न नसकेको र जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको बताइन्।
सरकार काण्डै काण्डको भुमरीमा पौडी खेल्दै तैरिन खोज्नु भनेको आफै डुब्ने तयारिमा छ भन्ने कुरामा कुनै दुइ मत नभएको उनले बताइन्।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई छानवीन गरि कारबाही गर्न माग गरिन् ।
भ्रष्टचारीलाई सरकारले कारवाही गर्न नसकेको र यसको विरोधमा नेविसंघले सशक्त आन्दोलन गर्ने आरआर क्याम्पस नेविसंघ उपाध्यक्ष रामजी बस्नेतले बताए। प्रदर्शनकारीहरुले सरकारी ढुकुटीको चरम दुरुपयोग हुँदा पनि चुँ नबोलेको भन्दै प्रधानमन्त्रीको राजिनामा समेत माग गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment