टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित

डिसी नेपाल
१९ फागुन २०७६ ९:३३

बीबीसी। टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने “ढोका” खोलिदिएपछि ग्रीसले आगामी महिना शरणका लागि कुनै आवेदन नलिने घोषणा गरेको छ। यसअघि ग्रीसका अधिकारीहरूले करिब १०,००० आप्रवासीलाई टर्कीसँग जोडिएको स्थलसीमामा रोकिएको बताएका थिए।

ग्रीसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले आफ्नो सीमामा “अधिकतम अवरोध” गरिएको बताए। टर्कीले सिरिया युद्धका कारण ठूलो सङ्ख्यामा भागिरहेका मानिसको भार आफूले थेग्न नसक्ने बताएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले गत शुक्रवारदेखि आप्रवासीहरूलाई छिमेकी ईयू सदस्यराष्ट्र ग्रीस र बल्गेरियातिर जाने प्रयास गर्न अनुमति दिने बताएका थिए।

गत साता उत्तरी सिरियाको इड्लिब प्रान्तमा एउटा हवाई आक्रमणमा ३३ जना टर्किश सैनिक मारिएपछि उनले उक्त घोषणा गरेका थिए। टर्कीमा झन्डै ३७ लाख सिरियाली शरणार्थी छन्। अफगानिस्तानसहित अन्य देशका आप्रवासीहरू पनि त्यहाँ पुगेका छन्।

युरोपेली सङ्घसँग सन् २०१६ मा भएको सहायतासम्बन्धी एउटा सम्झौताका कारण उसले पहिला ती शरणार्थी र आप्रवासीहरूलाई युरोप जान रोक्ने गरेको थियो। तर एर्दोआनले ईयूले आफ्नो वाचा पालना नगरेको आरोप लगाएका छन्।

ईयूको सीमासुरक्षा हेर्ने निकायले टर्कीसँग जोडिएको युरोपेली सीमामा उच्च सतर्कता अपनाइएको जनाएको छ। ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले आइतवार साँझ ट्वीट गर्दै शरणको आवेदन हाललाई निलम्बन गरिएको घोषणा गरेका छन्।

“पूर्ण युरोपेली समर्थन सुनिश्चित गर्न” उनले एउटा युरोपेली सन्धिको आपत्कालीन खण्ड लागु गरिएको बताएका छन्। “ग्रीसका सीमाहरू युरोपका बाह्य सीमा हुन्। हामी ती सीमाको रक्षा गर्छौँ,” उनले लेखेका छन्। उनले युरोपेली परिषद्का अध्यक्षसँग मङ्गलवार ग्रीसको टर्कीसँग जोडिएको स्थलसीमाको भ्रमण गर्ने पनि बताएका छन्।

उनले गैरकानुनी रूपमा ग्रीस प्रवेश गर्नेलाई फर्काइने चेतावनी पनि दिए। ग्रीस सरकारका अनुसार २४ घण्टामा झन्डै १०,००० आप्रवासीहरूलाई ग्रीस प्रवेश गर्नबाट रोकिएको छ।

ग्रीस र टर्कीको स्थलसीमामा आप्रवासी र सुरक्षाकर्मीबीच झडप पनि भएको छ। ग्रीसका सुरक्षाकर्मीले आप्रवासीहरूलाई रोक्न अश्रुग्यास प्रहार गरेका छन् भने आप्रवासीहरूले पनि ढुङ्गा हानेका छन्।

ग्रीसका अधिकारीहरूले समुद्री मार्ग हुँदै ग्रीसका टापुहरूमा पनि आप्रवासीहरू प्रवेश गरेको जनाएका छन्। ईयूले आफ्ना मापदण्डको रक्षा गर्न ग्रीस र बल्गेरियाको सहायता गरिरहेको जनाएको छ।

गत साता उत्तरी सिरियामा त्यहाँको सरकारी सेनाले गरेको हवाई कारबाहीमा टर्कीका ३३ सैनिकको मृत्यु भएको थियो। विद्रोहीहरूले कब्जामा लिएको इड्लिबमा उक्त घटना भएको थियो।

त्यसपछि टर्कीले सिरियामा ड्रोन प्रयोग गरेर प्रत्याक्रमण गरेको थियो। त्यसमा सिरियाली सेनाका १९ जना मारिएको सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ।

रुसको समर्थनमा सिरिया इड्लिबलाई आफ्नो नियन्त्रणमा लिने प्रयासमा छ। तर टर्कीले त्यहाँका विद्रोहीहरूलाई समर्थन गरिरहेको छ। टर्कीका राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरियाबाट फिर्ता हुन र टर्कीलाई सिरियासँग ‘के गर्नुपर्ने हो त्यो गर्न’ दिन बताएको एर्दोआनका एक प्रवक्ताले बताएका थिए।

“हामीले महिनौँ पहिले भनेका थियौँ कि यस्तै भइरहे हामी ढोका खोलिदिनेछौँ। उनीहरूले हामीमाथि विश्वास गरेका थिएनन् हामीले हिजो ढोका खोलिदियौँ,” शनिवार टर्कीका राष्ट्रपति एर्दोआनले भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.