इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु

डिसी नेपाल
१९ फागुन २०७६ १४:४३

अङ्कारा। इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ। इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ।

विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँकी एकजना ६४ वर्षीया महिला र उनकी ३१ वर्षीया छोरीमा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरु अहिले राम्रो अवस्थामा रहेका जाकार्तामा रहेको एक अस्पतालले जानकारी दिएको छ। ती दुई जना जापानबाट मलेसिया हुदै इन्डोनेसिया फर्र्किएका थिए।

उता संयुक्त राज्य अमेरिकामा भने थप एकजनाको यस भाइरसका कारण मृत्यु भएको छ। एकजना ७० वर्षीय अमेरिकी नागरिकको सो भाइरसको प्रकोपबाट निधन भएको बताइएको छ।

वासिङ्टन राज्यको किङ काउन्टीमा उनको ज्यान गएको बताइएको छ। उपचाररत ती ७० वर्षीयको आइतबार निधन भएको र कोरोना भाइरसको सङ्क्रमणबाटै उनको निधन भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

किङ काउन्टी करिब ७ लाख जनसंख्या भएको नगर हो। यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत शनिबारमात्र पनि एकजनाको ज्यान गएको थियो। उनको पनि वासिङ्टन राज्यकै एक अस्पतालमा निधन भएको थियो।

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि दुई जनाको ज्यान गएकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.