ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच “सौहार्दपूर्ण वार्ता”

डिसी नेपाल
२१ फागुन २०७६ २०:५७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै “सौहार्दपूर्ण” वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरु रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो ।

ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले नै सबैभन्दा पहिलो समाचार सार्वजनिक गरेको थियो । यो फोनवार्ता करिब ३५ मिनेट भएको थियो ।

तालिबानसँग कुरा भएको बारेमा वासिङ्टनमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति ट्रम्पले पुष्टी गरेका थिए। विगतमा पनि फोनमा कुराकानी भएको थियो कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले यस बारेमा केही बताउन नसक्ने जानकारी दिएका थिए ।

“तालिबानका नेतासँग आज निकै राम्रो मैत्रीपूर्ण कुराकानी भएको थियो । मुल्लाहसँगको मेरा सम्बन्ध निकै राम्रो छ । हामीले आज लामै कुराकानी गरेका छौँ । उनीहरु (तालिबान समूह) हिंसा रोक्न चाहन्छन् ।”

यद्यपी, गत शनिबार दुवै पक्षबीच युद्धविराम गर्ने र अमेरिकी सेना फिर्ता गर्नेजस्ता विषय समेटिएको सम्झौता गरिए पनि अफगानिस्तानभित्र केही हिंसात्मक झडप भएका छन् । हिंसाका कारण आगामी मार्च १० मा शुरु हुने विद्रोही पक्ष र अमेरिका–समर्थित काबुल सरकारबीचको वार्तामा अन्यौल सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले तालिबानसँग भएको शान्ति सम्झौता विगत दुई दशकदेखि जारी हिंसा अन्त्य गर्ने उपायस्वरुप गरिएको बताए । कतिपयले राष्ट्रपतिको आगामी नोभेम्बरमा हुन लागेको चुनावका अघिल्तिर यस्तो सम्झौता गरिएको र त्यसबाट राष्ट्रपतिलाई चुनावमा फाइदा पुग्ने अनुमान गरेका छन् ।

सम्झौताबमोजिम तालिबानले सुरक्षा प्रत्याभूति दिएको अवस्थामा १४ महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनेछ । साथै अफगान सरकारले जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई मुक्त गर्नेछ भने तालिबानको कब्जामा रहेका एक हजार सैनिक मुक्त हुनेछन् । तर अफगान राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा रहेका कैदीबन्दीको विषय अफगान सरकारको अधिकार क्षेत्रभित्रको भन्दै कैदी मुक्त गर्न कठिन हुने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.