कोरोना भाइरसको कारण राष्ट्रवादी केन्द्र नेपालद्वारा ‘विशाल खबरदारी आमसभा’ स्थगित

डिसी नेपाल
२२ फागुन २०७६ १३:११

काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले यही फागुन २४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनेको ‘विशाल खबरदारी आमसभा’ कोरोना भाईरस (कोभिड–१९) को भयपूर्ण सन्त्रासका कारण स्थगित गरेको छ।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रवादी केन्द्र नेपालले यस्तो जानकारी दिएको हो। कार्यक्रममा बोल्दै राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय संयोजक चन्द्र बहादुर थापाले हाल विश्वव्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको भयपूर्ण प्रभाव नेपालमा पनि परेको उल्लेख गर्दै आफूहरुले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी यही फागुन २४ गते गर्ने भनिएको विशाल आमसभा स्थगित गरिएको जानकारी दिए।

संयोजक थापाको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र जनजिविकाको सवालमा (ॐ) ओमकार परिवार भित्रका हिन्दू, बौद्ध, किराँतलगायत मुस्लिम, शिख, जैन, बोन सम्पूर्ण धर्मालम्वीहरु एकताबद्ध भई राष्ट्र, राष्ट्रियता, तथा आ–आफ्नो सनातन धर्म, संस्कृति, भाषा र सम्भयताहरुको पहिचान कायम गरी राख्न ‘शिक्षा, स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी सहितको वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपाल’ कायम गर्ने लक्ष्य प्राप्तिका लागि ‘राष्ट्रवादी केन्द्र नेपाल’ को आयोजनामा यही २०७६ फागुन २४ गते शनिबारका दिन हजारौं राष्ट्रिय झण्डा र ॐको झण्डासहित शान्तिपूर्ण खबरदारी आमसभा र पदयात्राको अन्तिम तयारी भईरहेको विषय आम नागरिकमा जगजाहेर छ।’

विज्ञप्तिमा थप भनिएको छ,‘हाल विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको भयपूर्ण प्रभाव हाम्रो देशमा पनि परेको अवस्थामा राष्ट्रवादी केन्द्र नेपाल आम नेपाली नागरिकहरुप्रति पूर्ण जवाफदेही तथा संवेदनशील रहेकाले नेपाली नागरिकहरुको स्वास्थ्यलाई ध्यानामा राखि निर्धारित ५ ठाउँबाट हुने विशाल र्यालीसहितको खवरदारी आमसभा कार्यक्रम जानकारी गराउँदछौं । साथै, सम्पुर्ण नेपालीहरुले सजकता अपनाई स्वस्थ रही यस महामारीबाट बच्न र बचाउनको लागि हार्दिक अपिल गर्दछौं।’

संयोजक थापाले फागुन २४ गतेको बृहत्त खवरदारी आमसभा स्थगित् भएपनि राष्ट्रवादी केन्द्र नेपालका आन्तरिक कार्यक्रमहरु भने सुचारु रहने पनि जानकारी दिए। संयोजक थापाले जनताले लामो समयको संघर्षपछि संविधानमा लिखित रुपमै निःशुल्क शिक्षा र स्वास्थ्य, र रोजगारीको सुनिश्चित्ता गरिएको भएपनि व्यवहारमा ती कुरा लागु नभएको भन्दै गुनासो पोखे । आफूहरु सुरुदेखि नै शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने नारासहित अघि बढेको पनि उनले स्पष्ट पारे।

नेपाल मन्दिरै मन्दिरको देश भएपनि अहिले विदेशी धर्महरुको धार्मिक क्षेत्रको रुपमा विकसित भएको भन्दै उनले कडा आक्रोश पोखे। ‘लोकतन्त्र भनेको बहुमतको शासन व्यवस्था हो, नेपालमा चाहीँ वैदिक सनातन धर्म मान्नेहरुको बहुमत छ, नेपाललाई धर्मनिरपेक्ष नभएर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र बनाउनुपर्छ,’ संयोजक थापाले भने।

राष्ट्रवादी केन्द्र नेपालले वैदिक सनातन धर्मसापेक्ष राष्ट्र नेपाल कायम गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, स्वदेशमा रोजगारको ग्यारेन्टी गर्नुपर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, बन्द उद्योग पूनः सञ्चालन गर्नुपर्ने, दोहोरो तेहोरो करण प्रणालीको अन्त्य गर्नुपर्ने, माटो सुहाउँदो शिक्षा लागु गर्नुपर्ने, व्यवसायी, उद्यमी, लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, र खेल र खेलाडीको सम्मान गर्नुपर्ने नारा अघि सार्दै आएको छ ।

कार्यक्रममा राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय महासमिति सदस्यहरु डा. प्रशान्त पाण्डे, प्रेमराज बासुकला, वसन्त शर्मा, विन्दु केसी, भुवन संगम, तारा प्रसाद अर्याल, निरज कुमार पुन, ज्ञानदेव विष्ट, ज्ञानेन्द्र अधिकारी, अनिल राना थारु, अर्जुन उप्रेती, सुवास श्रेष्ठ, शिशिर भट्ट, तेजनारायण पौडेल, हिमलाल पौडेल, दिवस पटेल, पुरेन्द्र रावल, भोला यादव, छन्दविज्ञान निरौला, किरण देउवा, अनुप लामिछाने, गोविन्द विष्ट, भीम विष्ट, खगेन्द्र कुँवर, सुरेन्द्र कुमार उप्रेती, सुजन पोखरेल, लक्ष्मण पाण्डे, नरदेव न्यौपानेलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेनलको सञ्चालन भने केन्द्रिय महासमिति सदस्य ताराप्रसाद अर्यालले गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *