बम विस्फोट हुँदा हाँस्ने सिरियाली बालिकालाई टर्कीमा शरण

डिसी नेपाल
२२ फागुन २०७६ १४:०५

बीबीसी। सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ।सल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए।

गत महिना भाइरल भएको एउटा भिडिओका कारण उनी चर्चामा आएकी थिइन्। त्यो भिडिओमा युद्धक विमानले बम आक्रमण गर्दा विस्फोटन भएको सुनेर उनी घरभित्र हाँसिरहेको देखिन्छ।

त्यसको एक हप्तापछि टर्कीको सरकारले ती बालिका र उनका अभिभावकलाई सीमा पार गरेर टर्की जान सहयोग गरेको बुझिएको छ। सिरियाली भूभागमा पर्ने इड्लिब प्रान्तमा विद्रोहीहरूको नियन्त्रण छ।

उक्त क्षेत्रमा टर्कीले सघाएको विद्रोही समूह र सिरियाली सेनाबीच भीषण युद्ध सुरु भएपछि गत डिसेम्बरयता झन्डै १० लाख मानिस भागेर सिरिया र टर्कीको सीमा क्षेत्र पुगेका छन्।

सल्वा र उनका पिता अब्दुल्ला मोहम्मदले हवाई आक्रमण झेल्ने अनौठो उपाय प्रयोगमा ल्याएका थिए। अब्दुल्लाले छोरीलाई विस्फोटन भएको सुन्दा हाँस्न सिकाए। बच्चाहरूले पटका पड्काउँदा निस्किएको आवाज सुनाउँदै उनले त्यसरी पनि रमाउन सकिन्छ भनेर छोरीलाई विश्वस्त पारेका थिए।

उक्त भिडिओका कारण उनीहरूप्रति सहानुभूति बढ्यो र उनीहरूलाई त्यहाँबाट भाग्न सहयोग गर्न टर्की सरकारलाई अग्रसर बनायो। गत फेब्रुअरी २५ मा उनीहरूले सिरियाको सीमा पार गरेको टर्की प्रवेश गरेको एनाडोलु समाचारसंस्थाले जनाएको छ।

त्यसपछि उनीहरूलाई टर्कीको दक्षिणी भेगमा अवस्थित एउटा शरणार्थी शिविरमा लगिएको बताइएको छ। द गार्डीअन पत्रिकाकी संवाददाताले मङ्गलवार सल्वा र उनका पिताको तस्बिर ट्वीट गरेकी थिइन्।

“जीवनमा पहिलो पटक उनी सामान्य कुरामा हाँस्न सक्छिन्,” उनले लेखेकी छन्। आफूहरूले भिडिओमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई सन्देश पठाउन खोजेको अब्दुल्लाले टर्कीका सञ्चारमाध्यमलाई बताएका छन्।

अब सल्वाले विद्यालय जाने अवसर पाउँछिन् भन्दै उनले टर्कीमा शरण पाएकोमा प्रसन्नता व्यक्त गरेका छन्। “मलाई आशा छ कि सिरियामा जारी द्वन्द्व चाँडै समाप्त हुनेछ र म सिरिया फर्किन पाउनेछु,” एनाडोलु समाचारसंस्थाले प्रकाशन गरेको समाचारमा अब्दुल्लालाई उद्धृत गरिएको छ। टर्कीले अहिले नै ३७ लाख सिरियालीलाई शरण दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *