ग्रीसले अवैध आप्रवासी उनीहरुकै देश फिर्ता गर्ने

डिसी नेपाल
२२ फागुन २०७६ १७:५२

कास्टानिज । ग्रीसले यही मार्च १ तारिखपछि अवैध रुपमा ग्रीस प्रवेश गरेका आप्रवासीलाई उनीहरु आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरु छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रीस प्रवेश गरेका थिए ।

ग्रीसका आप्रवास मन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रीस प्रवेश गरेका उनीहरु सबैलाई पक्राउ गरी उनीहरुकै देशतर्फ फर्काइने जानकारी दिए।

टर्कीले गत फेब्रुअरी २८ मा आफ्नो भूमिमा लामो समयदेखि रहेबसेका आप्रवासीमध्ये टर्की प्रवेश गर्न चाहनेमाथि कुनै कारबाही नगर्ने वा नरोक्ने घोषणा गरेको थियो । यही मौकामा कम्तीमा १० हजार व्यक्ति ग्रीस प्रवेशका लागि सीमा क्षेत्रमा भेला भएका थिए ।

युरोपेली यूनियनसँग टर्कीले सन् २०१६ मा गरेको सम्झौतामा यी आप्रवासीलाई ग्रीस वा यूरोपेली मुलुकमा अवैध प्रवेश गर्न नदिने उल्लेख थियो ।

यहीबीच टर्कीले आप्रवासीमाथि खुकुलो नीति लिएसँगै सयौं व्यक्ति ग्रीस प्रवेश गरिसकेका छन् । उनीहरुमध्ये अधिकांश सामुद्रिक मार्ग हुँदै ग्रीसको लेसबोस पुगेका छन् भने केही व्यक्ति ग्रीसका अरु द्वीपमा पुगेका छन् ।

टर्की र ग्रीसले पछिल्लो समय एकअर्कामाथि आप्रवासीमाथि ज्यादती गरेको आरोप लगाइरहेका छन् । सीमा क्षेत्रमा भेला भएका आप्रवासीमाथि दुबै देशका सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको छ ।

एथेन्स न्यूज एजेन्सीसँग कुरा गर्दै ग्रीसका आप्रवास मन्त्री मिटाराचीले भने, “हाम्रो उद्देश्य अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउनु हो ।” उनले सन् २०१९ को जनवरी १ भन्दा अघि ग्रीस प्रवेश गरेका र विभिन्न द्वीपमा छरिएर बसिरहेका आप्रवासीलाई आगामी दिनमा एकै थलोमा ल्याइने पनि बताए ।

ग्रीसले गत मार्च १ मा आप्रवासका लागि आवेदन दिए पनि कुनै पनि निवेदनलाई स्वीकार नगरिने घोषणा गरेको थियो । तर ग्रीसको उक्त कदमप्रति विभिन्न मानव अधिकार संस्थाहरुले आलोचना गरेका छन् । ग्रीसको लेसबोसमा यसअघि नै २० हजारभन्दा बढीले आश्रय लिइरहेका छन् ।

टर्कीले सीमा क्षेत्रमा गोली चलाउँदा एक जना आप्रवासीको मृत्यु भएको र अरु पाँच जना घाइते भएको आरोप लगाएको छ, तर ग्रीसले उक्त आरोपको खण्डन गरेको छ । ग्रीसका अनुसार टर्कीको प्रहरीले अश्रुग्यास प्रहार गरी आप्रवासीलाई ग्रीसको सीमाभित्र प्रवेश गराउन मद्दत गरिरहेको छ ।

सिरियाको इड्लिबमा रसिया समर्थित सिरियाली हवाई आक्रमणमा टर्कीका ३३ जना सैनिक मारिएपछि पछिल्लो सङ्कट उत्पन्न भएको हो । इड्लिबमा जारी सिरियाली बम हमला रोक्न युरोप र अमेरिकाले पर्याप्त ध्यान नदिएको टर्कीको आरोप छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *