कोरोना कहरः राजनीतिक दलका नेतादेखि पूर्व राजासम्म फुर्सदिला

मदन कोइराला
२५ फागुन २०७६ ८:२७

काठमाडौं। विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले एक हप्ता अगाडि नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने विषयमा छलफल गर्यो। लगत्तै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा चैत पाँच गतेसम्म सक्ने गरी तयारी थाल्न आग्रह गर्यो।

त्यसपछि सरकारी र निजी क्षेत्रबाट एकपछि अर्को गर्दै पूर्व घोषित सार्वजनिक कार्यक्रम स्थगित भएका छन्। राजनीतिक दलले गर्ने सभा सम्मेलनदेखि विदेश भ्रमण र सार्वजनिक स्थलमा भेला हुने सबै प्रकारका कार्यक्रम स्थगित भएका छन्।

कोरोना भाइरसका कारण प्रमुख राजनीतिक दलले सार्वजनिक सभा सम्मेलन नगर्ने र घोषित कार्यक्रमसमेत स्थगित गरेपछि राजनीतिक दलका प्रमुख नेताहरु फुर्सदिला भएका छन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली गत सोमबारदेखि मृगौला प्रत्यारोपणका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्। प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै रहनेछन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यतिबेला रुघा खोकी र हल्का ज्वरो आएका कारण आराम गरिरहेका छन्। प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी नभएको र भेटघाट पनि कम गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

‘उहाँको स्वास्थ्यमा धेरै सुधार भएको छ। तर सार्वजनिक कार्यक्रममा सहभागी र भेटघाट भने कम गर्नु भएको छ,’ सापकोटोले डिसी नेपालसँग भने। सार्वजनिक समारोहमा सहभागी हुन र कार्यकर्ता एवं शुभचिन्तकसँग भेट गर्न रमाउने प्रचण्ड विगत केही दिनदेखि घरमै आराम गरिरहेका छन्।

पूर्व राजा ज्ञानेन्द्र शाहले सार्वजनिक कार्यक्रम र भेटघाटलाई कम गरेका छन्। सार्वजनिक कार्यक्रममा तय नगरेका पूर्व राजा शाहले आफ्ना शुभचिन्तकसँगको भेटलाई भने निरन्तरता दिइरहेका छन्। ‘अहिले सरकारको सार्वजनिक कार्यक्रममा सहभागी हुने तय भएको छैन,’ पूर्व राजाका संवाद सचिव फणिराज पाठकले डिसी नेपालसँग भने, ‘शुभचिन्तकहरुसँग भेटघाट भने भइरहेको छ।’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि पार्टीका सार्वजनिक सबै कार्यक्रम स्थगित गरेको छ। कांग्रेसले केहीदिन अघि पत्रकार सम्मेलन गर्दै कोरोनाबाट बच्न तथा आवश्यक सतर्कता अपनाउन देशवासीसँगै सरकारलाई समेत आवश्यक तयारी गर्न आग्रह गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। साथै उनले कार्यकर्ता र शुभचिन्तकसँगको भेटघाटलाई समेत कम गरेका छन्। देउवाको सचिवालयका अनुसार सार्वजनिक कार्यक्रममा सहभागी नहुने र कार्यकर्ताकोसँगको भेटघाटलाई पनि कम गर्दै लैजाने देउवाको तयारी छ। ‘सार्वजनिक कार्यक्रममा सहभागी हुन भएकाे छैन, कार्यकर्ता र शुभचिन्तकसँग भने भेटघाट भइरहेकाे छ’, सभापति देउवाकाे स्वकीय सचिव भानु देउवाले डिसी नेपालसँग भने।

यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्ना पूर्व घोषित कार्यक्रम स्थगित गरेका छन्। पौडेलले पाल्पा र बाग्लुङमा तय भएको कार्यक्रम स्थगित गरेको बताए। ‘कोरोना भाइरसबाट सचेत रहन मैले आफ्ना पूर्व घोषित कार्यक्रम स्थगित गरेको छु,’ पौडेलले डिसी नेपालसँग भने, ‘अहिले घरमै बसेर कार्यकर्तासँग सामान्य भेटघाट गरिरहेको छु।’ उनले कार्यकर्तालाई पनि कोरोना भाइरसबाट सजग रहन आग्रह गर्ने गरेको बताए।

नेकपा वरिष्ठ नेता झलनाथ खनाल सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् भने भेटघाटलाई पनि कडाइ गरेका छन्। ‘सार्वजनिक कार्यक्रममा पछिल्लो समय सहभागी हुनु भएको छैन,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले डिसी नेपालसँग भने, ‘भेटघाटलाई पनि कडाइ गर्नु भएको छ।’ खनालले अत्यावश्यक नपरी भेटघाट पनि गर्न छोडेका छन्।

अधिकांश राजनीतिक दलका पूर्व निर्धारित कार्यक्रमहरु धमाधम रोकिएका छन्। यस्तै राजनीतिक दल, सर्वजानिक पद धारण गरेका विशिष्ट व्यत्तिहरुले समेत कुनै कार्यक्रममा आमन्त्रण गरेपनि त्यसलाई अस्वीकार गर्दै घरमै आराम गरिरहेका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ७७ मुलुकमा फैलिइसकेको पुष्टि भएको छ । हालसम्म कोरोना भाइरसका कारण ३३ सय भन्दा धेरैको ज्यान गइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *