कोरोनाले फुर्सदिलो बनायो !
काठमाडौं। विगतका वर्षमा यतिबेला देश–विदेशका स्टेज कार्यक्रममा ब्यस्त हुने गायक–गायिकाहरु अहिले काठमाडौंमै छन्। स्टेज कार्यक्रम नहुँदा कोही नयाँ गीत रेकर्डिङमा लागेका छन्। कोही घरमै आराम गरेर बसिरहेका छन्। अधिकांश फुर्सदिला छन्।
यसको कारण हो, विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रास। कोरोना भाइरसको त्रासका कारण सरकारले भीडभाडका कार्यक्रम नगर्न/नजान आग्रह गरेको छ। त्योसँगै देश विदेशका मेला/महोत्सव तथा सांगीतिक कार्यक्रमहरु स्थगित भएका छन्। जसको मारमा स्टेज कार्यक्रमलाई आम्दानीको स्रोत बनाउने गायक गायिकाहरु परेका छन्। उनीहरुलाई सोध्ने हो भने अधिकांशले भन्छन् ‘कोरोनाले फुर्सदिलो बनायो!’
‘बोलमाया’, ‘गलबन्दी’जस्ता लोकप्रिय गीतकी गायिका शान्तीश्री परियार कोरोनाको त्रासका कारण स्टेज कार्यक्रम स्थगित भएपछि फुर्सदमा छिन्। उनी तय भएका आधा दर्जन बढी कार्यक्रम स्थगित भएको बताउँछिन्। यसले आर्थिक घाटा पुर्याउनु स्वभाविक भएको बताउँदै संयमता अपनाउनुपर्ने बताउँछिन्।
स्टेज कार्यक्रमबाट फुर्सदिलो भएपनि दिनहुँ गीत रेकर्डिङ गरिरहेको शान्तीश्री बताउँछिन्। ‘स्टुडियो धाउने २–३ वटा गीत रेकर्ड गर्ने अनि घर फर्किने काम भईरहेको छ’– शान्तीश्री भन्छिन्।
लोकप्रिय गायक पशुपति शर्माका पनि थुप्रै स्टेज कार्यक्रम स्थगित भए। कोरोना त्रास बढेसंगै आफैले पनि केही हप्ता देश/विदेशका स्टेज कार्यक्रममा सहभागी नहुने घोषणा गरे। हिजोआज उनी फुर्सदिलो छन्। उनले केही दिन अगाडि कोरोनाभाइरस विरुद्धको जनचेतनामूलक गीत सार्वजनिक गरे। अन्य केही गीतहरु पनि रेकर्ड गरिरहेको पशुपति बताउँछन्। अधिकांश समय भने घरमै आराम गरेर बित्ने उनले बताए।
गायिका राधिका हमाल पनि कोरोना त्रासले आफूलाई फुर्सदिलो बनाएको बताउँछिन्। कोरोनाकै कारण राधिकाका देश–विदेशका एक दर्जन कार्यक्रम स्थगित भए। दोलखा, रोल्पा, तनहुँ, सिन्धुपाल्चोकसंगै कोरिया, अष्ट्रेलिया, पञ्जावको कार्यक्रम कोरोनाकै कारण स्थगित गरेको राधिकाले बताइन्। ‘स्टेज कार्यक्रमबाट गुजारा चलाउनेलाई कार्यक्रम नहुँदा अलिकति ‘डिसब्यालेन्स’ हुँदोरहेछ। हरेक क्षेत्रमा असर पुर्याइरहेको अवस्थामा हामी कलाकारहरुले चिन्ता लिएर नि भएन’– उनी भन्छिन्।
कार्यक्रमको व्यस्तताले उनले नयाँ गीत रेकर्डिङ गर्न भ्याएकी थिइनन्। अहिले रेकर्डिङलाई समय दिएको राधिकाले बताइन्। उनले गायक पशुपति शर्मासंग नयाँ गीत रेकर्ड गरेकी छिन्।
रेकर्डिङ स्टुडियो म्युजिक बैंक नेपालकी संचालक रहेकी राधिका अन्य गायक–गायिका पनि यो फुर्सदको समयमा नयाँ गीत रेकर्डिङमा लागेको बताउँछिन्।
लोकदोहोरी गायक खुमन अधिकारीका पनि एक दर्जन स्टेज कार्यक्रम कोरोना त्रासकै कारण स्थगित भए। जसका कारण लाखौं रुपैयाँ घाटा लागेको उनी बताउँछन्। उनी केही समयदेखि फुर्सदिलो भएर घरमै छन्। फुर्सदको समय परिवार आफन्तसंग बिताउने तथा रोकिएका गीत रेकर्डिङ पूरा गर्ने योजना छ।
उनको कामना छ, –चाँडै नै कोरोनाको त्रास हटोस् र जनजीवन पुरानै अवस्थामा फर्कियोस। अनि स्टेज कार्यक्रममा हिँडन पाइयोस्’।
मोडल अञ्जली अधिकारी कोरोना त्रासका कारण तय भएका स्टेज कार्यक्रम स्थगित हुनुका साथै सुटिङमा पनि कमी आएको बताउँछिन्। गायक कमल खत्रीले पनि कोरोनाले आफूलाई फुर्सदिलो बनाएको बताउँछन्। कोरोना त्रासले होलीमा स्टेज कार्यक्रम नहुँदा पारिवारिक भेटघाटमा बितेको कमलले बताए। उनका अन्य थुप्रै स्टेज कार्यक्रम स्थगित भएका छन्।
कलाकारहरु चिन्तित हुनुहुन्छः रमेश विजी (अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान)
लोकदोहारी प्रतिष्ठानले वार्षिक रुपमा गर्दै आएको राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता कोरोना त्रासकै कारण स्थगित गर्नुपर्यो। स्टेज कलाकारहरुका लागि यो सिजनको समय हो। तर, अहिले देश विदेशका स्टेज कार्यक्रम स्थगित भएका छन्। यसले आर्थिक रुपमा कलाकारहरुलाई ठूलो नोक्सानी पुर्याएको छ।

कार्यक्रम स्थगित भएपछि अधिकांश कलाकार फुर्सदमै हुनुहुन्छ। कोही कलाकारहरु गीत सिर्जना, रेकर्डिङमा लाग्नुभएको छ। अधिकांश कलाकार बेकामजस्तै हुनुभएको छ। उहाँहरु पारिवारिक रुपमा पनि चिन्तित हुनुहुन्छ। कतिपय कलाकारहरु बच्चाहरुको परीक्षा सकिएपछि गाउँतिर जाने, केही समयका लागि गाउँतिर बस्ने मनस्थितिमा हुनुहुन्छ।
अहिले कोरोना भाइरसले हरेक क्षेत्रमा असर पुर्याएको छ। त्यसैले संयमता अपनाउनु जरुरी छ। हामीले पनि दोहोरी गीत प्रतिष्ठानबाट पशुपति शर्माले गाउनुभएको ‘कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत’लाई जनहितका लागि भनेर रिलिज गरेका छौं। अन्य कलाकारहरुलाई पनि आआफ्नो क्षेत्रबाट जनचेतना फैलाउन अनुरोध गरेका छौं। कलाकारहरुलाई त्रसित नहुन, नआत्तिन बरु आफूलाई सुरक्षित राख्न प्रतिष्ठानको अनुरोध छ।
















Facebook Comment