पाँचखपनमा आगलागी हुँदा रु आठ लाख क्षति, एक घाइते

डिसी नेपाल
५ चैत २०७६ १७:५०

खाँदबारी । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा आगलागी हुँदा रु आठ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट पाँचखपन–८ पोख्राङका बृहस्पति गौतमका दुई घर जलेर नष्ट भएको नगरपालिकाका उपप्रमुख भीमादेवी राईले जानकारी दिइन् ।

मङ्गलबार राति १० बजे खोले पकाउँदै गरिएको आगो सल्किएर गौतमका घरमा भएका खाद्यान्न, लत्ताकपडा, रु १२ हजार, दुई तोला सुनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उपप्रमुख राईले बताइन् । राति आगो नियन्त्रण गर्न नसकिएको उनले बताए । आगलागीबाट रु आठ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीचौकी पाँचखपनले जनाएको छ ।

आगो निभाउने क्रममा पाँचखपन –८ का टङ्कप्रसाद गौतम र छत्रबहादुर दाहाल घाइते भएको वाना प्रहरी चौकीले जनाएको छ । घाइते गौतमलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उपप्रमुख राईले जानकारी दिइन्। आगो निभाउने क्रममा गौतमलाई शरीरका विभिन्न भागमा पोलेको स्थानीयवासी अशोक न्यौपानेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *