अन्नपूर्ण संरक्षण क्षेत्रमा एकै वर्षमा १६९ देशका ५ लाखभन्दा बढी पर्यटकद्वारा भ्रमण
गण्डकी। गत आर्थिक वर्षमा विश्वविख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा १ सय ६९ देशका ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पर्यटकले भ्रमण गरी नयाँ अभिलेख कायम गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। कुल पर्यटकहरूमध्ये दक्षिण एसियाली (सार्क) मुलुकका ३ लाख ८४ हजार १ सय ४५ जना र अन्य तेस्रो मुलुकका १ लाख २४ हजार ३ सय ३१ जना रहेका छन्।
पर्यटक आगमनमा सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको रहेको छ, जहाँबाट ३ लाख ७५ हजार ७ सय ९७ जना भित्रिएका छन्।
यस्तै चिनियाँ १२ हजार ५ सय ३९, अमेरिकी ९ हजार ८ सय ८४, बेलायती ९ हजार ८ सय ५९, फ्रान्सेली ७ हजार ९ सय ३९, मलेसियाली ७ हजार ८ सय ४८, जर्मन ७ हजार ६ सय ३४, बङ्गलादेशी ७ हजार ४ सय ४८, अस्ट्रेलियाली ७ हजार ९५ र इजरायली ६ हजार ३ सय ९८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।
विशेषगरी जेठ महिनातिर भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै ३ सय प्रतिशतले वृद्धि भएको र यति ठूलो सङ्ख्यामा भारतीय पर्यटक आउनु पहिलो घटना भएको आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए।
भारतमा पोखरा र मुक्तिनाथ क्षेत्रको व्यापक प्रवर्द्धन, यातायातको सहजता तथा सामाजिक सञ्जालको प्रभावका कारण भारतीय पर्यटकहरूको आगमन ह्वात्तै बढेको हो। वैशाख र जेठको गर्मी छल्न पोखरा आएका भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ दर्शनका लागि पुग्ने गरेका छन्।
यसै अवधिमा पर्यटकीय राजधानी पोखराका होटलहरूको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो। कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा ७ हजार ६ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधता, हिमाली जनजीवन र प्राकृतिक सौन्दर्यका लागि विश्व प्रसिद्ध छ।
अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै पर्यटकहरू अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानी जस्ता आकर्षक गन्तव्यहरूमा पुग्ने गर्दछन्।
पूर्वाधार र सेवा सुविधाका दृष्टिले उत्कृष्ट मानिएको यस क्षेत्रमा आयोजनाले विदेशी पर्यटकको मात्र तथ्याङ्क सङ्कलन गर्ने गरेको छ।






डिसी नेपाल





Facebook Comment