हवाई भाडा ३६ प्रतिशतसम्म छुट

डिसी नेपाल
१० चैत २०७६ ७:३८

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा पनि अत्यधिक भाडा लिएको भन्दै गुनासो बढेपछि आन्तरिक वायुसेवाले भाडादरमा छुट दिने घोषणा गरेका छन् ।

सरकारले तोकेको अधिकतम सिलिङभित्रै भाडा लिँदै आए पनि अनर्गल प्रचार भएपछि भाडा दरमा छुट दिने निर्णय गरेको आन्तरिक वायुसेवा सञ्चालक सङ्घले जनाएको छ ।

सङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्रङ्क रुटमा यस्तो निर्णय गरिएको प्रस्ट पारेको छ । सङ्घका अनुसार सरकारले तोकेको भाडा दरमा २० देखि ३६ प्रतिशतसम्म छुट यात्रुले पाउनेछन् ।

सङ्घका अनुसार यति एयरलाइन्स र बुद्ध एयरलाइन्सले तत्कालका लागि ट्रङ्क रुटमा यस्तो छुट उपलब्ध गराउने छन् । यद्यपि यस्तो भाडा दर सिमरा, भरतपुर र जनकपुरमा लागू हुने छैन ।

यात्रुले यस्तो सुविधा सोमबारदेखि चैत २१ गतेसम्म प्राप्त गर्न सक्नेछन् । सङ्घले हवाई भाडा दरमा ४० प्रतिशत हिस्सा इन्धनको भए पनि नेपाल आयल निगमले विश्वव्यापी रूपमै हवाई इन्धनको मूल्य घटे पनि त्यस अनुसार नघटाएको आरोप लगाएको छ । निगमले न्यूनतम मुनाफा राखी हवाई इन्धन बिक्री गरे भाडा दर स्वतः घट्ने सङ्घले जनाएको छ ।

यसअघि भाडा दर अत्यधिक लिएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वायुसेवा सञ्चालकसँग शनिबार छलफल गरी भाडा दर घटाउन आग्रह गर्नुभएको थियो । वायुसेवा सञ्चालकले भाडा दर पुनर्विचार गर्न सकारात्मक प्रतिबद्धता जनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *