घरैमा बसौं, अस्पतालमा अटिँदैन

डिसी नेपाल
१५ चैत २०७६ ७:४७

कोभिड–१९ पेण्डामिक! विश्व स्वास्थ्य संगठनले जब कोरोना भाइरसलाई पेण्डामिक घोषणा गर्यो तबबाट संसारका धेरै मानिसको शरीर जिरिङ्ग भएको हुनुपर्छ। त्यतिबेलासम्म कोरोना संक्रमण १ सय ८० मुलुकमा पुगिसकेको थियो।
तर हामी (नेपाल) ग्रीन जोनमा छौं भनेर बस्यौं।

भारतको स्थिति हेरेर कतिपय निर्णय लिने हाम्रो पुरानै चलन हुँदाहुँदै पनि जब फ्रान्सबाट नेपाल आएकी एक किशोरीमा कोरोना पजेटिभ भेटियो तब हामी सबै ब्यूझियौं।

स्तम्भकार आफैं इटलीका चिकित्सक डा. फाबियानो डी मार्कोले मिडियामा गरेको हृदयस्पर्शी कुरा हेर्दै भावविह्वल हुँदै थिएँ। तीन सातालगातार अस्पतालमा सेवा गरेर घर फर्केका श्वासप्रश्वास विभागका डा. मार्कोले सो अन्तर्वार्तामा कोरोनाविरूद्ध लडिरहेको इटालीको दयनीय अवस्था चित्रण गरेका थिए।

बर्गामो सहरका डा. मार्कोले भनेका थिए– ‘उनीहरुले छालादेखि मुटुका विशेषज्ञसम्मलाई श्वासप्रश्वासमा उपचार सिकाएर काममा लगाइरहेका छन्। त्यति गर्दापनि जनशक्ति पुगेको छैन। उनका साथीहरू, डाक्टर र नर्स दिनदिनै रुन्छन्।’

करिब ४०० नर्सपनि बिरामी छन्। कोही कोरोनाले कोही ‘ओभरलोडेड ड्यूटी’ का कारणले। यो उनी कार्यरत हजार शैय्यासहितको पापा ज्योभानी अस्पतालको मात्रै कुरा हो।

उनका अनुसार कोरोना महामारीले आममानिसमा परेको मानसिक आघात निकै गहिरो छ। उनको अस्पतालमा एक दिनमा २० जनासम्म यो रोगका कारण मरिरहेका छन्। अस्पताल भर्ना भएका बिरामी आफन्तसँत भेटघाट गर्नबाट वञ्चित छन्।

मृत्यु हुनेहरु एक्लै अस्पतालमा मर्छन् र मरिसकेपछि उनीहरूका घरमा फोन गरेर जानकारी दिने गरिएको छ। कामको अन्योलमा कहिलेकाहीँ अस्पतालका कर्मचारिले फोन गर्न छुटाउँछन्। पछि घरबाट बिरामीलाई कस्तो छ भनेर फोन आउँदा बिरामीको मृत्यु भइसकेको खबर सुनाउन बाध्य छन् अस्पतालहरु।

इटली जस्तो सम्पन्न देशमा स्थिति अनियन्त्रित छ। डा. मार्कोले भनेका छन्, ‘आइसियू चाहिने सयौं बिरामी छन् तर आइसियुका बेड दसौं मात्रै छन्।’

सोच्दै थिएँ, सामान्य अवस्थामासमेत हाम्रा सरकारी अस्पतालमा माग भन्दा कैयौं गुणा कम आइसियू वेड, विज्ञ र उपकरण उपलब्ध छन्। त्यस्तै दिन आए हाम्रो हबिगत के होला? हामीसँग २७ हजार स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कसरी धान्लान यस्तो महामारी।

डा. मार्कोको सल्लाह थियो– ‘कोरोना आउला र उपचार गरौंला भनेर कोही नबसौं, त्यो सम्भवै छैन। जति गर्न सकिन्छ, महामारी आइनपुग्दै, नफैलिँदै गरौं। अहिलेको सानो लापरवाही वा हेलचेक्र्याइँ पछि गएर हजारौं ज्यान जाने कारक बन्न सक्छ।’

कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मृत्यु शैय्यामा भएकाहरू आफन्तको होइन, कुनै अपरिचित नर्स वा स्वास्थ्यकर्मीको हात समाएर अन्तिम सास लिँदैछन्। आफन्तहरू घरमा बसेर तीनको पीडामा साथै हुन नपाएकोमा पीडित छन्।

म झास्किँदै आफ्नै देशको समाचार हेर्न थाले।  त्यतिञ्जेल हाम्रो सराकारले पनि एक हप्ते ‘लकडाउन’ घोषणा गरिसकेको रहेछ। त्यत्तिकैमा इटलीका एक नायकको भिडियो अचेल सार्वजनिक भएको छ। उनकी बहिनीको कोरोनाका कारण मृत्यु भएको र लाश उठाउन कसैको सहयोग मिलेको छैन। सयौं लाश परित्यक्त छन्।

उता स्पेनमा त्यहाँको सेनाले मृत शरीरहरू संकलन गर्दैछ। हाम्रो जस्तो देश जहाँ आफन्तको कि शास कि लाश खोजिन्छ, त्यो समयमा हामीले लाश छुनपनि इन्कार गर्ने गरी कोरोना संक्रमण फैलाउन सहयोग हुने काम नगरौं, गर्दै नगरौं।

हामी जस्तो सघन उपचार सुविधा कम भएको देशमा यस्ता महमारी कठोर हुन्छन् नै। यसको औषधि भनेको बचावट नै हो। त्यसैले सरकारले लकडाउन गरेको छ। भाइरस हिँडेर घर आउँदैन कृपया भाइरस लिन तपाईं घर बाहिर नजानुस्।

नत्र स्पेन र इटालीको जस्तो अत्यास लाग्दो अवस्था हाम्रै अघि आउनेछ। ती देशमा कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मृत्यु शैय्यामा भएकाहरू आफन्तको होइन, कुनै अपरिचित नर्स वा स्वास्थ्यकर्मीको हात समाएर अन्तिम सास लिँदैछन्। आफन्तहरू घरमा बसेर तीनको पीडामा साथै हुन नपाएकोमा पीडित छन्।

तर संक्रमणको डरले घरबाट निस्कन सक्ने अवस्थामा छैनन्। नेपालका युवालाई यो अवस्था नआओस्। आफू घरबाट बाहिर निस्कन नसक्ने अनि आफन्तलाई अस्पतालको जिम्मा लगाएर मृत्युको समाचार पर्खनुपर्ने दिन नआओस्।
लकडाउन पछि होम क्वारेन्टाईन बसेको चौथो दिन। एउटा पुस्तक पढ्दै थिएँ।

पुस्तकको ४३ औ पेजले मलाइ यो लेख लेख्न प्रेरित गर्यो। ‘मेरो आकांक्षा’ भन्ने उक्त पुस्तकका यी हरफ तपाईंका लागि पनि प्रेरणा हुन सक्छन भनेर यहाँ सामेल गर्ने कोशिश गरेकी छु। अहिलेको जस्तो संक्रमण पहिलेपनि थिए। ती दुखद् थिए। तर नियन्त्रणमा थिए भन्ने सन्देश पनि बाँड्न खोजिएको छ।

‘म यहाँहरुसँग बोली रहँदा एउटा कथाबाट सुरु गर्न चाहन्छु। यो ३ वर्षे बालकको कथा हो। उ ‘क ख ग’ भन्दै नेपाली बर्णमाला सिक्न सुरु गर्दै थियो। र, उत्सुकताका साथ आफ्नो वरिपरीको संसारको अर्थ खोज्दै थियो। यही उत्सुकतका साथ उसले आफ्नो आमालाई देखे जतिका प्रत्येक नयाँ चीजकाबारे प्रश्न सोध्ने गथ्र्यो। कहिले जवाफ पाउँथ्यो, कहिले पाउँदैन थियो।

नयाँ कुरा सिक्ने चाहनाको प्रत्युत्तर उसले कहिलेकाँही आमाका कथा र लोकभाका सुन्ने गथ्र्यो। आमा उसको लागि प्रेरणा थिइन्। परन्तु त्यस बालकको जिन्दगीमा नसोचेको घटना आइलाग्यो। भाग्यले नराम्रो पीडा दियो। सानै छँदा उसले आफ्नी आमा गुमाउनु पर्यो। बालकले पाउनु पर्ने माया र प्रेरणा अन्त्य गर्दै बिफरको महामारीले उनको ज्यान लियो।

त्यस बेला बालकाले यो घटनाको अर्थ त्यति बुझेको थिएन। उ सानै र अवोध थियो। जसलाई मृत्युको कारण थाहा थिएन। उसले यही सुन्यो कि मृत्यु भगवानको इच्छा हो। बालकलाई भनियो कि रोगको कारण श्राप थियो र यसको उपचार मानव क्षमताले नभ्याउने थियो।

तर किन? थप प्रश्न बालकको दिमागमा रहिरह्यो। घटनाको ६ दशकपछि सोही बालक आज परिपक्व मानिसमा रूपान्त्रतरण भएको छ र नेपालको प्रधानमन्त्री रुपमा तपाईँहरुको अगाडि उभिएको छ।

उसले भन्दै छ– मानवीय दुखका अन्त्यका तरिकाहरू छन्। जनाताको जीवन थप राम्रो, स्वस्थ्य र सम्पन्न बनाउने उपायहरु छन्। महामारिले कोमल स्नेह र न्यानोपन चाहिने अवस्थाका बालकका आमाहरूलाई अल्पायुमा नलौजाओ भन्नका लागि कठिन संघर्ष गर्नुपर्ने हुनसक्छ। तर म दृढ विश्वासका साथ भन्न सक्छु, हामीले त्यस्तो संसार निर्माण गर्न सक्छौं जहाँ धनी र गरीब दुवै स्वस्थ जिन्दगी बिताउन सक्छ। अझ राम्रो गर्न सक्छन्। हामी कुनै पनि कारण कुनै किसिमाको महामारीले मानव सभ्यतालाई पराजित गर्ने वातावरण दिनु हुँदैन।’

यी हरफ अरुका होइनन् हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीका हुन्। उहाँ आफैं रोग जितिरहनु भएको छ। उहाँलाई महमारी र यसले निम्त्याउने जोखिमको मूल्य थाहा छ। त्यसैले उहाँले घरैबाट शासन गरेको बताउनु भएको छ। र, कोरोना परास्त गर्न हामी सबै घरैमा बस्नु जरूरी छ। ताकि प्रधानमन्त्रीले जस्तो बालकैमा अरुको आमा भागवानको प्यारो नहोस्। कोही बालक आमाको स्नेह बाट टाढा नहोस।

विपदमा कसरी ज्यान सुरक्षित राख्ने भन्ने कुरा हाम्रो पूर्वीय दर्शनले सिकाउँदै आएको छ, तर पालना कम भयो।
यहाँ महभारतको एउटा प्रसंग जोड्न उचित हुन्छ। दुर्योधनले पाण्डवहरुलाई नियमित रुपमा गर्ने दुराचारबाट विदुर सधंै दुखी हुन्थे।

दुर्योधनले पुरोचन नामको कालिगढद्वारा पाण्डवका लागि ‘वारणावत’ क्षेत्रमा सुन्दर महल बनाउन लगाए। जसलाई
लाक्षा गृह (लाहाको घर) भनियो। यो महल निर्माणमा अत्यन्त ज्वलनशील सामाग्री प्रयोग गरिएको थियो। पाण्डवहरुलाई त्यस महलमा बस्न पठाएपछि जंगलमा आगो लगाइ दिएर उनीहरुलाई सखाप पार्ने दुर्योधनको कुटिल चाल थियो।

राजमहलमाको यो षड्यन्त्र थाहा पाएर विदुर निक्कै चिन्तित थिए। प्रसंगवस एकदिन युधिष्ठिरलाई उनले सोधे–जंगलमा भयंकर डढेलो लाग्यो भने कुन चाहिं जनावर जीवित रहला?’ युधिष्ठिरले जवाफ दिए– जंगलका राजा सिंह, तेज गतिमा दौडने हरिण–मृग, विशाल शरीरका हात्ती आदि सबै आगोमा जलेर खरानी हुनेछन्।

२ वटा विश्व युद्धभन्दा त्रासद यो कोरोना महमारी र यसले निम्त्याएको महासंकटलाई जित्ने एउटा तरिका सरकारका लागि होइन त्यो पनि व्यक्ति आफ्नै लागि के हो भने कोरोना नियन्त्रणमा नआएसम्म घरैमा बस्ने, मुसोको जत्तिको विवेक पुर्याउने नै हो।

तर आफ्नो घरभित्र दुलोमा चुपचाप बस्ने मुसाहरु भने सुरक्षित रहनेछन्। डढेलोको महामारी सकिएपछि उनीहरुको दिनचर्या पूर्ववत रुपमा पुनः सुरु हुनेछ।’

ज्ञानी युधिष्ठिरले विदुरको सांकेतिक भाषा बुझी हाले र सोही अनुरुप बन्दै गरेको लाक्षा गृह मुनी गुप्त रुपमा सूरुंग बनाउन थालियो। लाक्षा गृहमा लागेको आगो जगंलभरि फैलियो। जंगलमा डढेलोको महामारी फैलिएर धेरै जीवजन्तु मरे तर पाण्डवहरु भने सुरुंगमार्फÞत सुरक्षित रहन सफल भए।

२ वटा विश्व युद्धभन्दा त्रासद यो कोरोना महमारी र यसले निम्त्याएको महासंकटलाई जित्ने एउटा तरिका सरकारका लागि होइन त्यो पनि व्यक्ति आफ्नै लागि के हो भने कोरोना नियन्त्रणमा नआएसम्म घरैमा बस्ने, मुसोको जत्तिको विवेक पुर्याउने नै हो।

सरकारले मुलुकलाई ‘लकडाउन’ गरेको छ। यसको मतलव मानिस सकेसम्म घरभित्रै बस्ने, अरु मानिसको सम्पर्कमा नजाने हो। आफूमात्रै होइन, सिंगै परिवार र आफन्तलाई समेत यसका लागि प्रेरित गर्ने हो। यसबीचमा पनि केही समयको अन्तरमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क सकभर नछाड्ने जस्ता कार्य भने बिर्सन मिल्दैन।

कोरोना भाइरस संक्रमण बढ्ने सम्भावना चुलिँदै जाँदा सरकारले गरेको यो निर्णय यतिबेला अत्यन्तै आवश्यक थियो। त्यसैले यो सरकारी निर्णयलाई सुझबुझपूर्ण मानिएको हो।

सामान्य मानिसले पनि बुझ्ने कुरा के हो भने ज्येष्ठ नागरिक, पहिलेदेखि नै कुनै रोगको सामना गरिरहेका व्यक्ति तथा बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता न्यून हुन्छ। त्यसैले कोरोनाले पनि यस्ता समस्याबाट गुज्रिरहेकालाई आक्रमण गर्ने मौका कुरिरहेको हुन्छ।

त्यसैले युवा वा वयस्क र तन्नेरीले यो भाइरसलाई जित्न सके पनि समस्याग्रस्त व्यक्तिहरूले जित्ने सम्भावना अत्यन्तै कम हुन्छ। त्यसैले ज्येष्ठ नागरिक, बिरामी र बालबालिका जस्ता भाइरसको बढी जोखिममा हुनेहरू बढी सतर्क हुनुपर्छ। उनीहरूलाई थप सुरक्षा आवश्यक पर्छ । र, यो भनेको पनि ‘घरबाहिर निस्कन निषेध’ गर्नु नै हो।

हुन त चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकअनुसार कोभिड–१९ को मृत्यु दर २.३ प्रतिशत छ। तर यसको मृत्यु दर डरलाग्दो नभए पनि यसले अरुमा रोग फैलाउन सक्ने दर निकै उच्च भएका कारण सम्पूर्ण जनता सतर्क हुनुपर्ने अवस्था सिर्जिएको हो।

१०–३९ वर्ष समूहका मानिसको मृत्यु दर ०.२० प्रतिशत रहे पनि ७० वर्षमाथिका व्यक्तिको मृत्यु दर ८ प्रतिशत रहनुले प्रतिरोधी क्षमता कमजोर भएकालाई कोरोनाले सबैभन्दा बढी लक्षित गर्छ भन्ने प्रस्टिन्छ।

कैयौँ सहरलाई एकअर्कासँग सम्पर्क विच्छेद गरिनु, हात धुने कार्य तीव्र र विस्तार गरिनु, मास्क लगाउनु, उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमलाई सूचना संप्रेषण गरिनु र द्रुत प्रतिकार्य टोली गठन गरेर त्यसमा सम्बन्धित धेरै निकाय समावेश गरी महामारी नियन्त्रणका लागि परिचालन गरिनु जस्ता कारण चीनमा कोरोनाले चाँडै डाँडो काटेको पनि यो अध्ययनले उल्लेख गरेको छ। त्यसैले नेपालमा पनि कोभिड–१९ बाट मुक्ति पाउन यिनै मार्ग अवलम्बन गर्नुको विकल्प हामीसँग छैन।

‘उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वेश’ भन्ने भनाइ यतिबेला सबैभन्दा बढी सान्दर्भिक छ। कोरोना लागे पनि मरिहालिन्न भनेर लकडाउन घोषणा खारेज गर्दै अघि बढ्ने हो भने त्यसले उसलाई मात्र नभएर अरुलाई पनि सिध्याउन सक्छ।

त्यसैले सरकारले घोषणा गरेको लकडाउनलाई शतप्रतिशत शिरोपर गर्दै आफू पनि सकभर घरबाहिर ननिस्कने र अरुलाई पनि ननिस्कन प्रेरित गर्नु नै कोरोनामाथि जीत हासिल गर्ने एकमात्र उपाय हो । लकडाउन पालना गरौं। घरै बसौँ। कोरोना आफैं घरभित्र आउँदैन। तपाईं हामी त्यसलाई लिन बाहिर जाने कष्ट गर्दै न गरौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *