५२ जिल्लामा कोभिडको नमूना परीक्षण

डिसी नेपाल
१ वैशाख २०७७ १७:५८

काठमाडौं । सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए । अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ । उनले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताए ।

उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९ सय ८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट ५ हजार ६ सय ९१ र ¥यापिड डाइग्नोष्टिक टेष्टबाट ५ हजार २ सय ९१ जनाको परीक्षण गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४ सय ३१ र उपत्यकाबाहिर १ हजार २ सय ५९ गरिएको छ । आजै मात्र काठमाडौँमा ४ सय ११ तथा र बाहिर १ सय ८ जनाको परीक्षण गरिएको छ ।

यसैगरी, प्रवक्ता डा देवकोटाले पर्सामा हिजो कोभिड–१९ सङ्क्रमित आफन्त, नातेदार र नजीकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए । पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।

पर्साको छपकैया टोलमा रहेका ५९ जनाको ¥यापिड किटबाट परीक्षण गरिएको र सबैमा सङ्क्रमण नभएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा १४ दिनभन्दा बढी क्वारेन्टाइनमा रहेका मानिसको ¥यापिड किटबाट परीक्षण शुरु भएको उनले जानकारी दिए। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए। महिलालाई सुदूर पश्चिम प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ भने रौतहटका पुरुषलाई पनि अस्पताल लैजाने प्रक्रिया रहेको छ ।

यसैगरी अहिलेसम्म ७ हजार १ सय ७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफैँ परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २ सय १९ जना रेड जोनमा परेका छन् । अहिलेसम्म १ सय ३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा ९ जना र बाँकी ९४ जना बाहिर रहेका छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ्मा दुई, काठमाडौँमा दुई, पर्सामा ३ र रौतहटमा एकजना सङ्क्रमित फेला परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.