सभामुख सापकोटद्वारा प्रदेशका सभामुखहरुसँग टेलिफोन वार्ता

डिसी नेपाल
२ वैशाख २०७७ १९:००

काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गरेका छन् ।

सभामुख सापकोटाले नोभल कोरोना भाइरस (कोभिड –१९) का कारण सिर्जित विषम परिस्थितिमा सातै प्रदेशमा परेको प्रभाव र भइरहेको तयारीका विषयमा फोनबाट छलफल गरेका हुन् ।

छलफल लकडाउन पछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशले गरिरहेका काम, स्वास्थ्य सामग्री र स्वाथ्यकर्मीको उपलब्धता र संघ, प्रदेश र स्थानीयतहवीचको समन्वय र आगामी अंगिकार गरिने नीतिका विषयमा केन्द्रित रहेको थियो ।

सभामुखहरुसँगको छलफलमा सापकोटाले प्रदेशमा विदेशबाट आएका नागरिकको अवस्था, उनीहरुलाई राखिएको ‘क्वारेन्टिन’ तथा अन्य व्यवस्थापन, स्वास्थ्यकर्मी तथा औषधीको उपलब्धता, परीक्षण र न्यून आय भएका र दैनिक ज्यालादारी मजदुरका लागि खाध्यान्नको उपलब्धताका विषयमा विस्तृत जानकारी लिएका थिए ।

छलफलका क्रममा प्रदेश नं १ का सभामुख प्रदीप कुमार भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ठ व्यवस्थापन गरिएको बताएका थिए । उनले संघीय सरकारले घोषणा गरेको लकडाउन पालनामा कडाई गरिएको बताए ।

प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले भारतसँगको सीमामा थप कडाइका लागि संघीय सरकारका गृहमन्त्रालय मार्फत् समन्वय गरिदिन संघीय संसदका सभामुख सापकोटासँग आग्रह थिए । खुल्ला सीमाका कारण प्रदेश नं २ मा जोखिम बढ्न सक्नेतर्फ आफूूहरु सतर्क रहेको यादवको भनाई छ ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशमा लकडाउन पालनामा विशेष जोड दिइएको बताएका थिए ।  गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सचेततापूर्वक ‘क्वारेन्टिन’मा बस्ने र परीक्षणको काम भइरहेको बताए ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुुर घर्तीले लकडाउनको पालनालाई कडाई गरिएको जानकारी गराए । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशमा स्वास्थ्य सामग्री र जनशक्तिको अभाव रहेको बताएका थिए ।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुुनबहादुर थापाले लकडाउनको सुरुआती दिनमा भारतबाट फर्किएका नागरिकलाई व्यबस्थापनमा कठिनाई भएपनि हाल सहज भएको बताए ।

सभामुख सापकोटाले सातै प्रदेशका उपसभामुखहरुसँग पनि छलफल गरी प्रदेशको बस्तुस्थितबारे जानकारी लिएका छन् । टेलिफोन छलफलमा उपसभामुखहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा काम हुनुपर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.