बुहारीको रिपोर्ट नेगेटिभ आएको छ : स्वास्थ्य मन्त्रालय

डिसी नेपाल
३ वैशाख २०७७ १७:११

काठमाडौं । काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

मंगलबार अपार्टमेन्टमा बस्ने तीजनामा आरडीटी पोजेटिभ आएपछि थप पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा दुई जनाको नेगेटिभ देखिएको थियो । यस्तै एक जनाको बुधबार पुनः परीक्षण गर्दा समेत नेगेटिभ आएको उनले बताए । पोजेटिभ देखिएका व्यक्तिहरुको सहयोगिको रुपमा काम गर्नेहरुको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्न नमुना लिइएको उनले बताए ।

पछिल्लो २४ घण्टामा पीसीआर प्रविधिबाट गरिएका कुनैपनि परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताए । सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ कुल परीक्षण गरिएको उनले बताए । यस्तै बुधबारसम्म स्वाव नमुना परीक्षण (पीसीआर) विधिबाट ६ हजार ८ सय ७१ जनाको परीक्षण गरिएको छ । ¥यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ८ हजार ९ सय २९ वटा परीक्षण भएका छन् । अहिले सम्म कुल १५ हजार ८ सय परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

यस्तै, विदेशबाट आएका व्यक्तिहरुको र्यापिड किटबाट परीक्षणगर्ने कार्यलाई तिब्रता दिएको समेत प्रवक्ता देवकोटाले बताए । अहिलेसम्म ¥यापिड किटबाट परीक्षण गर्न १४ वटा जिल्ला बाँकी रहेको उनले बताए ।

प्रदेश १ मा ७ वटा जिल्ला, प्रदेश २ मा ३ वटा जिल्ला, गण्डकी प्रदेशमा १ वटा जिल्ला, प्रदेश ५ मा १ वटा र कर्णाली प्रदेशमा २ वटा जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाउन आझै बाँकी रहेको उनले बताए । बागमती प्रदेश र सूदुरपश्चिम प्रदेशका सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण गर्ने व्यवस्था भइसकेको छ ।

यस्तै विभिन्न ठाउँबाट ¥यापिड किटबाट गरिएको परीक्षणमा पोजेटिभ भएको रिपोर्ट आएको र त्यसको पीसीआर प्रविधिबाट परीक्षण गरेपछि आएको रिपोर्टलाई सार्वजनिक गरिने समेत उनले बताए ।

अहिले देशभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ११ र उपत्यकाबाहिर १ सय ६ गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेका छन् । यस्तै कलसेन्टरमा पछिल्लो २४ घण्टामा आएका २ हजार ६ सय ३८ जनाको गुनासो सम्बोधन गरेको समेत प्रवक्ता देवकोटाले बताए । यस्तै गत २४ घण्टामा आफ्नो स्वास्थ्यको १ हजार १ सय ८२ जनाले स्वमुल्याङ्कन गरेको र अहिले सम्म १७ हजार ६ सय ३० जनाले आफ्नो स्वास्थ्यको स्वमुल्याङ्कन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.