त्रिभुवन आर्मी एनआरटीसँग २–२ गोलको बराबरीमा

डिसी नेपाल
१३ असोज २०७५ १४:४९

काठमाडौँ । शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको पहिलो खेलमा उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लव एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा राष्ट्रिय टोलीका स्ट्राइकरहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्कीलगायतको शशक्त अग्रपंक्ति रहे पनि आर्मीले एनआरटीबिरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन। गत सिजन ए डिभिजनमा बढुवा भएको एनआरटीले भने आजको खेलमा उत्कृष्ट टिमगेमको नमूना प्रस्तुत गरेको थियो।

खेलको १२औं मिनेटमै त्रिभुवन आर्मीलाई स्तब्ध बनाउँदै एनआरटीले अग्रता लिएको थियो। राजेश परियारको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका रोजितले शानदार गोल गर्न सफल भए।

तर, ३८औं मिनेटमा आर्मीले पेनाल्टी पायो। एनआरटीका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए। जसलाई सन्तोष तामाङले सदुपयोग गरी खेल बराबरीमा ल्याए।

पहिलो हाफ एक एक गोलको बराबरी भए पनि दोस्रो हाफमा एनआरटीले पुनः अग्रता बनायो। ६४औं मिनेटमा एनआरटीका राजेश परियारले वान भर्सेस वानमा गोल गर्दै टिमलाई २–१ को अवस्थामा पुर्याए।

तर, खेलको अन्तिम मिनेटमा आर्मीले डिबक्स भित्रबाट फ्रिकिक पायो। एनआरटीका गोलरक्षक अजित प्रजापतिले धेरै समय बल होल्ड गरेका कारण रेफ्री सुदीस पाण्डेले इनडाइरेक्ट फ्रिकिकको अवसर दिएका थिए। जसमा आर्मीका सन्तोष तामाङले गोल गरी आर्मीलाई अंकबिहीन हुनबाट जोगाए।

ए डिभिजन लिग अन्तर्गत आइतबार सरस्वती क्लव र संकटा क्लवबीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *