गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा ठोरीका दुई होटलमा छापा, ११ जना पक्राउ
पर्सा । गृहमन्त्री सुधन गुरुङले पर्साको ठोरीस्थित दुईवटा होटलमा आफैँ उपस्थित भई छापा मारेका छन्।
बाराको सिमरामा मिटरब्याज पीडितहरूलाई भेटघाट गरी काठमाडौं फर्कने क्रममा बिहीबार साँझ गृहमन्त्री गुरुङले विशेष सूचनाका आधारमा ठोरी बजारमा रहेको ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर’ होटलमा छापा मारेका हुन्।
होटलमा अनैतिक क्रियाकलाप भइरहेको सूचना पाएपछि मन्त्री गुरुङ आफ्नो टोलीसहित होटलमा छिरेका थिए। त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले उक्त होटलहरूबाट ७ महिलासहित ११ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमध्ये अधिकांशलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साथै, होटल सञ्चालकहरूलाई भने मानव बेचबिखन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment