विदेशमा रहेका परिवारका सदस्यलाई मनोपरामर्श

डिसी नेपाल
१० जेठ २०७७ १६:५९

घोराही । रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा दाङका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारसँग जोडिएकाहरुका आफन्तलाई परामर्श दिने काम भइरहेको छ ।

विदेशमा रहेकाहरुको स्वास्थ्य, कामको अवस्था, कोरोनाले पारेको प्रभाव आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य भइरहेको परियोजना जिल्ला संयोजक वसन्ता पुनले जानकारी दिइन् । कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका आफन्तको चिन्ताले मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको उनले बताइन् । विदेशमा अप्ठेरामा परेकाहरुका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरुलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उनको भनाइ छ ।

संक्रमण फैलन नदिन लागू गरिएको बन्दाबन्दीयता जिल्लाका चार पालिका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा एकएक मनोपरार्शकर्ताले परामर्शको काम गरिरहेका छन् । विशेषगरी विदेशमा आफन्त हुँदा यहाँ परिवारका सदस्यमा पर्न गएको मानसिक तनाव कम गर्न उनीहरुको पीडा सुन्ने गरेको घोराहीमा मनोपरामर्शको काम गरिरेकी मनोपरामर्शकर्ता सुशीला आचार्यले बताइन् ।

“यहाँ परिवारको दैनिक अवस्था, विदेशमा रहेका आफन्तको अवस्था जानकारी लिने काम भइरहेको छ”, उनले भनिन् । यस्तो सन्त्रासका समयमा उनीहरुको परिवारका सदस्यको मनमा उत्पन्न हुने असहज अवस्थालाई कम गर्न प्राथमिक मनोशिक्षा दिने काम भइरहेको छ । विदेशमा रहेकाहरु समस्यामा परेको भए समाधानका लागि स्थानीय तहमार्फत सरकारसँग समन्वय गर्ने कार्य पनि गरिएको परियोजनाका वित्तीय साक्षरता सहजकर्ता रमा शर्माले जानकारी दिइन् । विदेशमा रहेकाका परिवारको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भए राहत उपलब्ध गराउनका लागि सम्बन्धित वडा कार्यालय र स्थानीय तहमा समन्वय गरिदिने काम परियोजनाले गरिरहेको उनले बताइन् ।

परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङमा सुरक्षित आप्रवासन सूचना केन्द्र स्थापना गरेर परामर्शको काम भइरहेको छ । लकडाउनपछि राहदानी बनाएकाहरुलाई सुरक्षित वैदेशिक रोजगारी तथा कोरोनाको कारण वैदेशिक रोजगारमा भइरहेको गतिविधिबारे जानकारी दिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *