संक्रमितलाई आइसोलेशनमा लान खोज्दा स्थानीयको अवरोध, रौतहट प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

डिसी नेपाल
१६ जेठ २०७७ १३:१४

काठमाडौं। रौतहटको इशनाथ नगरपालिकामा कोरोना संक्रमितलाई आइसोलेशनमा राख्न खोज्दा स्थानीयवासीले प्रतिकार गरेका छन्।

बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई व्यक्तिलाई आइसोलेशनमा लान स्वास्थ्यकर्मी र प्रहरीको टोली पुग्दा स्थानीय वासिन्दा अवरोध गरी प्रतिकार गरेका थिए। स्थानीय बासिन्दाले प्रतिकार गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर समेत गरेको थियो।

इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका २ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रकै अर्को स्थानमा रहेको आइसोलेसनमा लाग्न चिकित्सक र सुरक्षाकर्मी पुगेका थिए।

तर स्थानीय बासिन्दाहरुले उनीहरुलाई बाहिर लान नपाइने भन्दै प्रतिकार गरेपछि प्रहरीले बाध्य भएर हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। झडपमा स्थानीय सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधानसमेत तोडफोड भएको छ।

त्यहाँका अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन्। शहरभित्रै अधिक जनसंख्या रहेको र त्यहाँ विरामी अन्य नागरिक समेत सुरक्षित हुने अवस्था नभएकाले उनीहरुलाई अन्यत्र आइसोलेशनमा राख्नु परेको हो।

प्रहरीले स्थानीय बासिन्दालाई सम्झाउने प्रयास गरिरहेको छ। भारतबाट नेपाल आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि रौतहटका स्थानीय तहकै क्वारेन्टाइनमा बस्दै आएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोरोना संक्रमण देखिदा अन्य व्यक्तिहरु समेत जोखिममा पर्ने भएकाले संक्रमितहरुलाई छुट्टै राख्नु परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *