संविधान संशोधन प्रस्ताव संसदमा पेश

डिसी नेपाल
१८ जेठ २०७७ ११:४७

काठमाडाैं। प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ। नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक पेश भएको हो।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरिन्।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको थियो। प्रस्ताव पेश गर्नुअघि कानूनमन्त्री डा तुम्बाहाङ्फेले सो विधेयकलाई प्रस्तुत गर्न अनुमति मागेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १३ गते संसद्मा रहेका पार्टीका नेताहरुबीच सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्धरूपमा प्रस्तुत हुन र संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेका थिए।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *