कपिलवस्तुमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि बजेट

डिसी नेपाल
२२ जेठ २०७७ २१:५९

बुटवल । कोरोना भाइरस संक्रमण उच्च देखिएको प्रदेश नं ५ को कपिलवस्तु जिल्लामा कोरोना परीक्षण प्रयोशाला स्थापना गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने भएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कपिलवस्तुमा प्रयोगशाला स्थापनाको माग भएमा जिल्लाका स्थानीय तहसँगको सहकार्य हुने गरी बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै प्रयोगशाला सञ्चालनको जिम्मा लिने निकाय सम्बन्धित जिल्ला अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय यकिन गर्नसमेत निर्देशन दिइएको छ । प्रदेश सरकारले प्रदेश राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालाको क्षमता बढाउन कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु ५० लाख सामाजिक विकास मन्त्रालयबाट व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा दुईवटै परीक्षण यन्त्र सञ्चालन गरेर परीक्षणको दायरा बढाउन तथा प्रयोगशालामा आवश्यक जनशक्तिको व्यवस्थाका लागि सामाजिक विकास मन्त्रालयमार्फत आवश्यक प्रक्रिया मिलाइने भएको छ ।

बैठकले प्रदेशका जिल्लामा बढ्दोक्रममा रहेकाले कोरोना संक्रमणको सामना गर्न सम्बन्धित जिल्लाका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाई आवश्यक तयारी गर्ने निर्देशन दिएको छ । यस्तै रोगको नियन्त्रण तथा उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने वातावरण सामाजिक मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मिलाउनसमेत निर्देशन दिइएको छ ।

भारतबाट नेपाल भित्रिने सीमा नाका रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा होल्डिङ्ग क्वारेन्टिन निर्माण गर्ने निर्णय गरिएको छ । बाँके जिल्लाले कर्णाली प्रदेशका जिल्लासँग, कपिलवस्तुले प्रदेश नं ५ का जिल्लासँग र रुपन्देहीले आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको समन्वयमा होल्डिङ क्वारेन्टिनमा रहेका व्यक्तिलाई गन्तव्यसम्म पुग्न प्रमुख जिल्ला अधिकारीलाई व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

क्वारेन्टाइन, आइसोलेशन सेन्टर तथा आइसोलेशन अस्पतालमा रहेका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि योग, ध्यान तथा मनोसामाजिक परामर्शको व्यवस्थाका लागि आयुर्वेद अस्पताल र स्वास्थ्य कार्यालयमार्फत आवश्यक व्यवस्था मिलाउने जिम्मा सामाजिक मन्त्रालयलाई तोकिएको छ ।

कोरोनाका लक्षण देखिएकाहरुलाई तत्काल आइसोलेशन सेन्टरबाट कोरोना विशेष अस्पतालमा ल्याउनका लागि सामाजिक मन्त्रालयलाई मिलाउने व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ । त्यस्ता बिरामी बाँके र बर्दियाका सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा, दाङ, प्युठान, रोल्पा र रुकुम९पूर्व० जिल्लाका दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पताल तथा कपिलवस्तु, रुपन्देही, नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०, अर्घाखाँची, पाल्पा र गुल्मीका बिरामीलाई बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा राख्ने व्यवस्था मिलाइने छ ।
कोरोना संक्रमणको दर बढ्दो अवस्थामा देखिएकाले हरेका जिल्लामा आइसोलेशन सेन्टर निर्माण गरी तिनको सञ्चालन तथा व्यवस्थापनका लागि तराईका जिल्लालाई रु २० लाख र पहाडी जिल्लाका लागि रु १० लाखको दरले कोरोना रोग नियन्त्रण तथा उपचार कोषबाट सम्बन्धित जिल्लाका कोरोना संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराइने भएको छ ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच नियमित समन्वय गरी कामलाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने गरी सबैले भूमिका खेल्ने गरी काम गर्न समेत आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *