लकडाउनमा बाल विवाह गर्ने बढे

डिसी नेपाल
२५ जेठ २०७७ १२:२५
4
Shares

नुवाकोट। नुवाकोटको विदुर–३ मा लकडाउनको समयामा २७ बालबालिकाले आफू खुशी विवाह गरेका छन्। अन्य समयमा पनि प्राय आफूखुशी बाल विवाह हुने विदुर–३ बुद्धोसिङ घाटको एक टोलमा लकडाउनको अवधीमा २७ बालबालिकाले भागेर विवाह गरेका छन्। आफूहरुले वालविहाह रोक्न निकै प्रयास गरेपनि नसकेको अभिभावको गुनासो छ।

एकहप्ता अगाडि मात्रै दुई दिनको अन्तर १४ र १७ वर्षीया दुई वटी छोरीले भागेर विवाह गरेको हर्कबहादुर राईले बताए। ‘दुख गरेर हुर्काएँ, पहिला पहिला आमा बाउले नचाहेरै विवाह गरिदिन्थे। अहिले नगर भनेर बिन्ती बिसाउँदा पनि उपाय लागेन,’ राईले भने, ‘दुःख लागेको छ, धेरै कोसिस गर्दा पनि रोक्न सकिएन। ती छोरीको भविष्य के होला भन्ने चिन्ता छ।’

वालविवाह कानुनी रुपमा गैरकानुनी काम भनिएता पनि आफूखुशी नै विवाह गर्ने बालबालिकाको विषयमा गम्भीरता पूर्वक सोच्नुपर्ने देखिन्छ। सोही टोलमा ४ दिन अगाडि मात्रै विवाह गरेका कक्षा आठमा पढ्ने १५ वर्षीय पवर राई भन्छन्, ‘अलिअलि कुरा भएको एक महिना भएको थियो। एक्कासी उनले मलाइ लिन आउ भनिन् केही सोच्दै नसोची म त लिन गएँ। उमेर त धेरै भएको छैन। उनी पनि भर्खर १४ वर्ष मात्रै लागिन।’

उज्यालो भविष्यको लागि दिनरात खट्नपर्ने यो उमेरमा बालबालिका खासै भविष्यको बारेमा सोच्ने गर्दैनन्। छोरीले आफ्नो चिन्ता नगरेको विषयमा दुःखी हुँदै करिब एक महिना अगाडि मात्रै भागी विवाह गरेकी ९ कक्षामा अध्ययनरत १७ वर्षीया बालिकाकी अभिभावक (आमा ) बेली ठकुरी भन्छिन्, ‘कस्तो समय आयो। उमेर पुगेको भए पनि हुने। आफूले सानै छ भनेर चम्चाले खुवाएर राखेकी थिए। विवाह गरी भन्दा त मरे तुल्य भयो। भविष्यको चिन्ता पनि लाग्नु पर्ने। ९ कक्षामा पढ्ने भएपछि त थोरै सोच्न पनि सक्नुपथ्र्यो।’

विवाह र प्रेम भन्ने शब्दको पूर्ण रुपमा अर्थ समेत थाहा नभइ आफ्नो नातिले बिबाह गरेकोमा बोल्ने शब्द नै नभएको बताउँछिन ९२ वर्षीया ठुली राई। ‘गएको हप्ता मात्रै १४ वर्षमा विवाह गर्यो। मैले आफैले पनि १७ वर्षमा बिबाह गरेको त्यो समयमा पनि। मन थिएन, तर बाले भनेपछि नगरी सुख थिएन। अहिले त जमाना फरक छ। भुराले बुझ्नु पर्ने हो म एउटा नातिलाई धेरै राम्रो बनाउँछु भन्ने सोचेकी थिए तर अब के होला थाहा छैन,’ उनले भनिन्।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *