काठमाडौं उपत्यकामा पाँचथर विश्व संजालद्वारा ५८३ जनालाई राहत वितरण

डिसी नेपाल
२५ जेठ २०७७ १३:३२

काठमाडौं । पाँचथर जिल्लामा जन्मिएर विश्वभर छरिएका नेपालीहरुको संस्था जनसम्पर्क समिति पांचथर विश्व संजालले काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने पाँचथरका परिवारलाई चौथो चरणको राहत वितरण गरेको छ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण पीडित बन्न पुगेका पाँचथरबासीलाई संजालले घर घरमै खाद्यन्न लगायतका सामाग्रीहरु पुर्‍याइरहेको जनसम्पर्क समिति पांचथर विश्व संजालका संयोजक एकराज नेम्बाङले जानकारी दिए । अब पाँचौ चरणको राहत वितरणको तयारी भइरहेको उनले बताए ।

संयोजक नेम्बाङले उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका अति विपन्न, मजदुर तथा डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत उपलब्ध गराएको जानकारी दिए । उनले भने, ‘यातायातको समस्या र महामारीको त्रासका बीच मानवीय सेवाभावले सहयोग गर्नु हाम्रो जिम्मेवारी ठानी सक्रिय भएका हौं ।’

विश्वभर छरिएका पाँचथरबासी, पाँचथर जिल्लासँग सम्बद्ध संघ संस्था तथा मनकारी करिब २५ जना ब्यक्तिहरुले संजाललाई आर्थिक सहयोग जुटाएका छन् । सहयोग आउने क्रम जारी छ ।

हालसम्म पहिलो चरणमा १७ घर (चुल्हो) का ४६ सदस्य र दोस्रो चरणमा ५१ घरका १३७ सदस्यलाई र तेस्रो चरणमा ३२ घरका ११५ सदस्य र चौथो चरणमा एकसय घर (चुल्हो) २८५ सदस्यलाई राहत पुर्‍याइएको संजालका यातायात विभाग प्रमुख सूर्यप्रकाश चेम्जोङले जानकारी दिए।

४० देशमा प्रतिनिधी रहेको पांचथर विश्व संजालले विश्वभरी महामारी फैलिएको यस्तो अवस्थामा लकडाउनबाट प्रभावित भइ जीवनयापन कठिन भइरहेकाले आफ्नो दायित्व ठानी राहत वितरण थालिएको संजालका कोषाध्यक्ष तथा प्रवक्ता मोती चाम्लिङले बताए ।

संजालका महामन्त्री खुशी लिम्बुले सहयोगी दाता र राहत वितरणमा क्रियाशिल सबैलाई आभार तथा धन्यवाद ब्यक्त गरेका छन् । उनले हाम्रो सक्रियताको सम्मान र दायित्व ठानेर निरन्तर सहयोग जुट्ने अपेक्षा गरेका छन् । संजालले यसअघि पनि जिल्लाको फलैंचामा पहिरो पीडितहरुका लागि राहत संकलन सहयोग पुर्‍याएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *