टिपर दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार

डिसी नेपाल
२८ जेठ २०७७ २०:४२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोटमा भएको टिपर दुर्घटनाका घाइतेलाई उद्धार गरेका छन् । मुख्यमन्त्री शाही आज आफँै नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट गएका थिए । आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परी गम्भीर घाइते रासकोट नगरपालिका–२ कालीकोटका २० वर्षीया निश्पता सार्की, २८ वर्षीया मीन सार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रेस सल्लाहकार बुढाथोकीले बताए । आठ जना घाइतेमा बाँकी छ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको उनले बताए। उनका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाइते सबैलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।

उक्त घटनामा भने रासकोट नगरपालिका–१ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक ओलियाका अनुसार हराएका तीन र घाइतेसहित ३४ जना सम्पर्कमा आएका छन् । टिपर चालक रङ्गनाथ धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भारतबाट घर फर्केका ३९ नागरिकहरु सबै रासकोट नगरपालिकाका रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.