तौल घटाउने औषधि प्रयोग गर्दै हुनुहुन्छ? नयाँ अध्ययन भन्छ: पुरुषमा कपाल झर्ने जोखिम

डिसी नेपाल
२७ भदौ २०८३ ९:५५

काठमाडौँ । ओजेम्पिक, वेगोभी र जेपबाउन्ड जस्ता तौल घटाउने ‘जीएलपी–१’ (GLP-1) वर्गका औषधि प्रयोग गर्नुअघि केही पुरुषमा कपाल झर्ने जोखिम पहिल्यै पहिचान गर्न सकिने सम्भावनातर्फ नयाँ अनुसन्धानले संकेत गरेको छ।

अमेरिकास्थित न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) बीच आनुवंशिक सम्बन्ध देखाएको छ। ‘जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजी’मा प्रकाशित अध्ययनले यस्तो सम्बन्ध पहिलो पटक वैज्ञानिक रूपमा प्रस्तुत गरेको हो।

अनुसन्धान अनुसार, जीएलपी–१ जीनको उच्च गतिविधिसँग सम्बन्धित आनुवंशिक विशेषता भएका पुरुषमा वंशाणुगत कपाल झर्ने अतिरिक्त जोखिम करिब ७ प्रतिशत बढी रहेको पाइएको छ। उच्च रक्तचाप, इन्सुलिन प्रतिरोध र टेस्टोस्टेरोनको स्तरजस्ता अन्य सम्भावित कारणहरूलाई समायोजन गरेपछि पनि यो सम्बन्ध कायम रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अध्ययनकी वरिष्ठ अनुसन्धानकर्ता लिन पेटुखोभाका अनुसार, भविष्यमा थप अनुसन्धानले यो सम्बन्ध पुष्टि गरेमा चिकित्सकहरूले जीएलपी–१ औषधि सिफारिस गर्नुअघि नै उच्च जोखिम भएका व्यक्ति पहिचान गर्न सक्नेछन्। यसले कपाल झर्ने सम्भावना कम गर्ने संयुक्त उपचार विधिको विकासका लागि बाटो खोल्न सक्ने उनको भनाइ छ।

हालसम्म जीएलपी-१ औषधि प्रयोगकर्तामा देखिने कपाल पातलो हुने समस्यालाई तीव्र रूपमा तौल घट्दा हुने अस्थायी असर (टेलोगेन एफ्लुभियम) का रूपमा मात्र हेरिँदै आएको थियो। तर नयाँ अध्ययनले यसमा आनुवंशिक पक्ष पनि जोडिएको हुन सक्ने संकेत दिएको छ।

यद्यपि अनुसन्धानकर्ताहरूले यो अध्ययनले जीएलपी–१ औषधिले प्रत्यक्ष रूपमा कपाल झार्छ भन्ने अन्तिम निष्कर्ष ननिकालेको स्पष्ट पारेका छन्। जीएलपी–१ गतिविधिले कपालको जरामा कसरी प्रभाव पार्छ र यो सम्बन्ध महिलाहरूमा पनि लागू हुन्छ वा हुँदैन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।

अमेरिकामा यी औषधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। अध्ययनमा उद्धृत सर्वेक्षणअनुसार करिब १२ प्रतिशत अमेरिकीले तौल घटाउने उद्देश्यले मात्र जीएलपी–१ औषधि प्रयोग गरिसकेका छन् भने सन् २०२० मा ओजेम्पिक स्वीकृत भएपछि यसको प्रिस्क्रिप्सन तीन गुणाभन्दा बढी बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *