थुनाभित्रै मृत्यु घटनाको छानबिन गर्न माग

डिसी नेपाल
२९ जेठ २०७७ २०:१२

धनुषा । इलाका प्रहरी कार्यालय सबैलाको थुनामा रहेका एक युवकको झुन्डिएर मृत्यु भएको घटनाको निश्पक्ष छानबिनको माग गर्दै आज जनकपुरधाममा प्रर्दशन गरिएको छ ।

धनुषाको सबैला नगरपालिकाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमै वडा नं १२ बस्ने शम्भु सदाको मृत्यु भएको घटनालाई लिएर नेपाल राष्ट्रिय मुसहर सङ्घले प्लेकार्ड बोकेर दोषीमाथि कारवाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेको हो ।

दर्जनौँको सङ्ख्यामा रहेका युवाले मोटरसाइकल जुलुस प्रदर्शन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर दोषीमाथि हदैसम्मको कारवाहीको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । त्यस्तै उनीहरुले मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार आयोगको कार्यालयलगायतमा समेत ज्ञापनपत्र बुझाएको छ ।

मृतक शम्भु सदाकी आमालाई प्रहरी चौकीमा गुपचुप ल्याउनु, जबरजस्ती इन्जेक्शन लगाई औँठाछाप लिनु आदिले आत्महत्या कुनै पनि हालतमा नरहेको र षडयन्त्रपूर्ण तरिकाले हत्या गरिएको आशङ्का ज्ञापनपत्रमा उल्लेख छ ।

मुसहर सङ्घले दोषीमाथि छानबिनको माग गर्दै क्षतिपूर्तिको पनि माग गरेको छ । प्रहरी निरीक्षक चन्द्रभूषण यादवलाई यथाशीघ्र निलम्बन गरी निष्पक्ष छानबिन हुनुपर्ने र प्रहरी दमनमा घाइते भएकाको निःशुल्क उपचारसहित मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.