नागरिकको ज्यान सुरक्षा गर्न सभासदहरुको ध्यानाकर्षण

डिसी नेपाल
३२ जेठ २०७७ २२:१५

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले प्रदेशका क्वारेन्टिनमा बसेका नागरिकको पिसिआर पद्धतिबाट तत्काल स्वास्थ्य जाँचको व्यवस्था गर्न र बिनास्वास्थ्य जाँच घर पठाउने काम बन्द गर्न ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने सभासदहरुले तोकिएको मापदण्ड बिनाका क्वारेन्टिनमा नागरिकलाई बसाउने कार्यले कोभिड—१९को सङ्क्रमण हुने खतरा बढेको, बिना स्वास्थ्य जाँच घर पठाउने कार्यले समाजमा सन्त्रास बढेको, क्वारेन्टिनको एउटै कोठामा ५० जनासम्म कोचिएर बस्नुपर्ने बाध्यता रहेकाले नागरिकको ज्यानको सुरक्षामा गम्भीर बन्न ध्यानाकर्षण गराए।

उनिहरुले प्रदेशको डोटी र बैतडीमा कोभिड–१९ को प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय छिटो कार्यान्वयन गर्न पनि माग गरे । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक पारित भएको घटना नेपालीका लागि ऐतिहासिक र गर्वको विषय भएको भन्दै सभासदहरुले विधेयक पारित गर्नमा भूमिका निर्वाह गर्ने प्रतिनिधिसभाका सदस्य र नेपाल सरकारलाई धन्यवाद दिए। विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दीर्घबहादुर सोडारी, मानबहादुर धामी, चुनकुमारी चौधरी तथा नेपाली काँग्रेसका डा रणबहादुर रावल र भरतबहादुर खड्काले भाग भएको थियो ।

बैठकमा प्रदेशसभा, सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले ‘प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदन प्रस्तुत गरे। यसैबीच प्रदेशसभाको असार १ गते सोमबार अपराह्न ४ बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्न लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.