नगरपालिकाले बनायो ५० शय्याको आइसोलेशन वार्ड
स्याङ्जा । गल्याङ नगरपालिकाले ५० श्ययाको आइसोलेशन वार्ड बनाएको छ । गल्याङ नगरपालिका–३ स्थित बल्पुकमा रहेको नगर अस्पतालमा कोरोनाबाट सङ्क्रमित भएकालाई राख्न ५० शय्याको आइसोलेशन वार्ड तयार गरिएको नगरपालिकाले जनाएको छ ।
गण्डकी प्रदेश सरकार र गल्याङ नगरपालिकाको समन्वयमा नगर अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारिएको नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताए। नगरप्रमुख अधिकारीले भने “कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लामा सङ्क्रमितलाई राख्न समस्या आउनसक्ने भएकाले नगर अस्पताललाई आइसोलेशन शय्यासहित तयारी अवस्थामा राखेका छौँ ।”
अहिले जिल्ला अस्पताल स्याङ्जामा १० शय्या र कालिका सामुदायिक अस्पताल हेलुमा ६० शय्याको आइसोलेशन क्षमता रहेको छ । गल्याङमा रहेको नगर अस्पताललाई नगरपालिकाले आइसोलेशन अस्पताल बनाएसँगै उपचारमा सहज हुने भएको छ । भारतबाट आएका २०१ जनालाई नगरपालिकाले क्वारेन्टिनमा राखेको छ भने कोरोना सङ्क्रमण देखिएका १८ जनालाई हेलुमा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।
सङ्क्रमितको सङ्ख्या ५० जनाभन्दा माथि भएमा नगरपालिकाले १ नम्बर वडामा रहेको मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र तथा वडा नं ८ र ११ मा रहेका स्वास्थ्य चौकीमा पनि आइसोलेशन निर्माण गर्ने तयारी भएको नगरप्रमुख अधिकारीले बताए ।
गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको रु १० लाखको लागतमा निर्माण शुरु गरिएको आइसोलेशनको अपुग खर्च गल्याङ नगरपालिका र प्रदेश सरकारले संयुक्त रुपमा व्यहोर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए । आइसोलेशनमा राखिएका नागरिकमा कोरोनाको थप लक्षण देखिए पोखरा पठाउने व्यवस्था गरिएको पनि प्रजिअ क्षेत्रीले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment