रोपाइँको सट्टा छरेर धानखेती गर्दै कैलालीका किसान

डिसी नेपाल
८ असार २०७७ ८:०३

कैलाली । कैलालीको भजनी नगरपालिका–३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्थे तर उनले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गरेका छन् ।

उनले एक बिघा खेतमा धान रोपेका छन् भने दुई बिघा खेतमा धान छर्नु (बुनु) भएको छ। “केही उच्च ठाउँमा धानको रोपाइँ गरिन्थ्यो, प्राय सबै जमीन वर्षातको सिजनमा बाँझै हुन्थ्यो”, साउँदले भने, “यस वर्ष सबै किसानले खेतमा धान छरेर खेती गरेका छन्, उत्पादन रोपेकै बराबर हुने भएपछि मैले पनि धान छरेर खेती गरेको छु।”

मानबहादुर मात्र होइन कन्हैयाँपुरका चेतराम चौधरीले पनि तीन बिघा क्षेत्रफलमा धानखेती गरेका छन् । उनले पनि रोपाइँको सट्टा धान छरेरै खेती शुरु गरेका हुन् । अहिले चेतरामको खेतमा धानको हरियाली देख्न सकिन्छ । “अघिल्लो वर्षमात्रै केही किसानले धान छरेर खेती गरेका थिए ।

उत्पादन राम्रो भएपछि यस वर्ष अधिकांश किसान छरेर गरिने धान खेतीमा केन्द्रित छन्”, चेतरामले भने, “राम्रो उत्पादन र खर्च कम हुने भएका कारण पनि किसानले यो प्राविधिकलाई अँगालेका हुन्।” किसान शेरबहादुर साउँदले अघिल्लो सिजनमा डुबानको जोखिम हुने खल्ला खेतमा वर्षा शुरु हुनुभन्दा पहिल्यै धान छरे ।

दश बिघा क्षेत्रफलमा छरेको धान र त्यतिनै क्षेत्रफलमा रोपेको धानको उत्पादन बराबर भएको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा भजनीमा छर्ने धान खेतीमा किसानको आकर्षण बढेको बताए ।

“खर्च कम छ, उत्पादन राम्रै हुन्छ, न त पानी चाहिने न काम गर्ने मान्छे नै”, साउँदले भने, “किसानले बाढी र डुबानका कारण कृषि क्षेत्रमा ठूलो क्षति ब्यहोर्नु पर्छ, छर्ने धानमा लगानी कम हुने हुँदा क्षति भए पनि कमै त हुने हो भन्ने मानसिकताले पनि किसान आकर्षित भएका हुन्।”

बाढी र डुबानको उच्च जोखिम रहेको भजनी नगरपालिका हुलाकी राजमार्गअन्तर्गत पर्ने सोनाहाफाँटा, कृष्णपुर, ठेकीलगायतका क्षेत्रमा अहिले किसानको खेतमा हरियाली देख्न सकिन्छ । वर्षातको समयमा बाँझै रहने जग्गामा नयाँ प्रणालीबाट धानखेती गरिएको अर्का किसान प्यारे चौधरीले बताए ।

उनले किसानले परीक्षणका लागि पनि खेतमा छरेर धान खेती गरेको बताउँदै धान खेतमा छर्दा पनि खेतको आली लगाएर रोपाइँको तरिका अपनाइएको बताए ।

सुक्खामा पनि किसानले रोप्ने धानकै प्रजातिलाई खेतमा छरेका हुन् । त्यसलाई पछि बढी मात्रामा पानी चाहिन्छ । चिम्ट्याइलो माटो भएका कारण धानको जरा वर्षात शुरु हुँदासम्म माटोमा कस्सिएर जाने विश्वास किसानको छ । जेठ मसान्तसम्म किसानले धानखेतमा छरिसकेका छन्।

डुबानका कारण रोपेको धान पानीमै कुहिने भएकाले किसानले हिउँदमा मात्र खेती गर्दै आए पनि अधिकांश किसानले यस वर्ष खेतमा धान छरेका छन्। रोपेको धान बराबरको उत्पादन दिने हुँदा किसान रोपाइँभन्दा छर्ने धानमा आकर्षित भएका हुन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *