बैतडीका विभिन्न स्थानमा पहिरो, एक परिवार विस्थापित, १० घर जोखिममा

डिसी नेपाल
२१ असार २०७७ ८:०५

बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु-याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए।

गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, “बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन्।”

पहिरोले घरमा क्षति पुर्याएपछि मङ्गल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ। यस्तै पुर्चौँडी–३ मा गएरातिको वर्षाले दुई पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पुर्याएको छ।

नगरपालिकाको वडा नं ३ स्थित सपैया खोलामा रहेका दुई घट्ट र एक कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले जानकारी दिए । सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ।

दार्चुलामा पनि क्षति

दार्चुलाको नौगाड गाउँपालिका–४ कपडेमा बाढी र पहिरोले क्षति पुर्याएको छ । गएरातिको वर्षाले वीरकोर खोलामा आएको बाढीले एउटा घट्ट बगाएको छ भने वीरकोर खानेपानी योजना पूर्णरूपमा नष्ट गरेको स्थानीय कालुसिंह ठगुन्नाले जानकारी दिए। यस्तै पहिरोका कारण हर्क ठगुन्ना, देवसिंह ठगुन्ना र प्रेमसिंह धामीको घर जोखिममा परेका छन्।

यसका साथै नौगाड–४ मा होपरी चट्केमा रहेको डाडाबाग आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ। माथिबाट पहिरो खस्न थालेकाले विद्यालय उच्च जोखिममा परेको स्थानीय कुमार ठगुन्नाले जानकारी दिनुभयो । साथै होपरीको ठाउँठाउँमा पहिरो जाँदा आवतजावतमा पनि समस्या भएको छ।

यही असार १४ गतेको पहिरोले होपरीगाड लघुजलविद्युत्को नहर भत्किएपछि हालसम्म पनि उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुनसकेको छैन। सोही नहर भत्किएर पहिरो जाँदा होपरीमा दुई जनाको ज्यान गएको थियो भने पाँच घाइते भएका थिए।

खोलाले बगाउँदा एक महिलाको मृत्यु

खोलाले बगाउँदा बैतडीमा शनिबार एक महिलाको मृत्यु भएको छ । पुर्चौँडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको शव फेला परेको हो। उनले भने, “मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ।” शनिबार मध्याह्न स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *