महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

डिसी नेपाल
२२ असार २०७७ १८:०९

झिमरुक । मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६÷०७७ को फागुन मसान्तसम्ममा ५ सय ५० महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन्। सो अवधिमा जम्मा एक हजार ५ सय १४ व्यक्तिले जग्गा पास गराउँदा ६० दलित महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन्। फागुन मसान्तसम्म एक हजार ५ सय १४ जग्गा पास र धितो ७ सय ६२ गरेर जम्मा एक करोड ४२ लाख ३६ हजार १ सय १४ राजश्व संकलन भएको मालपोत कार्यालयका प्रमुख भोजबहादुर भण्डारीले बताए।

महिला र दलितका हकमा २२ लाख ८० हजार ४ सय ८ राजश्वमा छुट भएको छ । ३५ लाख ३६ हजार २ सय भने लाभकर संकलन भएको उनले बताए । कोरोना संक्रमणका समयमा सरकारले थालेको बन्दाबन्दी हुनुपूर्व गत चैत १ देखि १० गतेसम्म रजिष्टे«सन राजीनामा ४९ र धितो १९ गरी ६८ वटा भएको कार्यालय प्रमुख भण्डारीले बताए।

सो अवधिमा महिला र दलित गरी २३ जनाले राजश्वमा छुट पाएको र चार लाख २० हजार ९ सय ८९ राजश्व सङ्कलन भएको छ । महिला र दलितका हकमा ९९ हजार २३६ राजश्वमा छुट भएको छ भने तीन लाख ४८ हजार ६२६ लाभकर सङ्कलन भएको छ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै यही असार १ गतेदेखि मालपोत कार्यालय सञ्चालनमा आएको छ । अठार दिनका अवधिमा २१ महिला र दलितले आफ्नो नाममा घरजग्गा पास गराएका छन् । रजिष्ट्रेशन राजीनामा ३६ र धितो ४२ गरी ७८ कामबाट पाँच लाख ३२ हजार ४ सय ९१ राजश्व संकलन तथा एक लाख १२ हजार १९ महिला र दलितका हकमा राजश्व छुट भएको छ । एक लाख ५० हजार ६७० लाभकर सङ्कलन भएको छ । बन्दाबन्दीका समयमा कोरोनाको त्रासले गर्दा खासै सेवाग्राही नआएको उनले बताए। सो अवधिमा बैंकको धितोको काममा सेवाग्राही बढी आएको उनको भनाइ छ।

पछिल्लो समय महिला पनि सचेत एवं चनाखो बन्दै जाँदा र आफ्नो अधिकारको खोजी गर्ने क्रममा आफ्नो नाममा सम्पत्ति स्वामित्व गराउनेको सङ्ख्या बढ्दै जान थालेको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ। महिलालाई घरजग्गा रजिष्ट्रेसन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने र दलितले थप छुटसमेत पाउने कार्यालय प्रमुख भण्डारीले बताए ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा महिला ९२२, दलित महिला २५८, अपागंता महिला तीन र वृद्ध महिला दुई जनाले आआफ्ना नाममा घरजग्गा नामसारी गराएका थिए । सोबाट दुई करोड ८५ लाख ४२ हजार आठ सय राजश्व संकलन भएको मालपोत कार्यालयले जनाएको छ।

महिलाको हक कायम गराउन सरकारी दस्तूरमा छुट दिने व्यवस्थाले तिनका नाममा जग्गा पास गर्नेको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । यसअघि जिल्लामा महिलाका नाममा जग्गा पास गराउनेको सङ्ख्या न्यून थियो । पुरुष वैदेशिक रोजगारीमा जाने र विदेशबाट कमाएर पठाएको पैसाले महिलाले आफ्नो नाममा घर घडेरी किन्ने क्रमसमेत बढेको देखिन्छ । घरघडेरीको किनबेच नामसारी वा बकसपत्र र धितो पास महिलाका नाममा हुने क्रम बढेको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *