प्रधानमन्त्रीद्वारा फ्रान्स र आयरल्यान्डका प्रधानमन्त्रीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उनिहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई पठाउनुभएको बधाई सन्देशमा नेपाल र फ्रान्सबीच पुरानो मैत्री एवं जनस्तरको सम्बन्धको चर्चा गर्दै उनले सुदृढ आर्थिक साझेदारीमा जोड दिएका छन्। नेपालको सामाजिक–आर्थिक उन्नयनमा फ्रान्सले गरेको सहयोगको प्रधानमन्त्री ओलीले सराहना गरेका छन् ।
यसैगरी आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टिडीलाई पठाउनुभएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले उनिसँग निकट सम्पर्कमा रहेर पारस्परिक लाभका खातिर सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन् । आगामी सन् २०२१–२२ का लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा आयरल्यान्ड निर्वाचित भएकामा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रधानमन्त्रीलाई पठाएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीविरुद्ध अन्तर्राष्ट्रिय समुदाय बीचको सहयोग र ऐक्यबद्धतामा विशेष जोड दिएका छन्। कोभिड–१९ का कारण उत्पन्न अहिलेको कठिन परिस्थितिमा आयरल्यान्ड र फ्रान्समा रहेका नेपालीलाई त्यहाँका सरकारबाट प्राप्त अमूल्य सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेका ती देशका नागरिकलाई नेपाल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन्।







डिसी नेपाल








Facebook Comment