कतारबाट २४ सय ६ नेपाली र ३९ शव स्वदेश आइपुगे, १९ शव उतै व्यवस्थापन

डिसी नेपाल
२६ असार २०७७ १६:२५

काठमाडौं । कोरोना भाइरसका कारण खाडी मुलुक कतारमा समस्यामा परेका २४ सय ६ जना नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार गर्न चार्टर उडान सुरु गरेदेखि अहिलेसम्म कतारबाट २४ सय ६ जना नेपाली स्वदेश फर्किसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका उपनियोग प्रमुख लक्ष्मण खनालका अनुसार हालसम्म विभिन्न एयरलाइन्सका १६ वटा जहाजमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । योसँगै कतारका लागि पहिलो चरणमा तय भएका उद्धार उडान पूरा भएका छन् । अहिलेको लागि उडान तालिका नभएता पनि समस्यामा परेका नेपाली फर्काउन थप उडानको लागि दूतावासले पहल गरिरहेको खनालले बताए ।

खनालले डिसी नेपाललाई बताएअनुसार समस्यामा परेका नेपालीको ‘उद्धार’ उडान अन्तर्गत कतारबाट १३ वटा चार्टड उडान भएका छन । कूल उडानमध्ये १३ उद्धार प्रयोजनका लागि भएका हुन् भने अन्य २ उडार कतार सरकारले नै त्यहाँ गैरकानुनी रुपमा रहेका नेपालीहरुलाई ‘डिपोर्ट’ गर्नको लागि उडाएको हो । एउटा उडान भने कतार एयरवेजले आफ्ना स्टाफको लागि उडाएको थियो । नेपालका तर्फबाट भएका १३ उडानमध्ये नेपाल एयरलाइन्सका ८ वटा जहाज र हिमालय एयरलाइन्सका ५ वटा जहाजले उडान भरेका हुन् ।

त्यहाँका कारागारहरूमा विभिन्न अभियोगमा सजाय भुक्तान गर्ने क्रममा आममाफी पाएका ४२ जना नेपाली र कतारको विभिन्न कानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रक्रियामा डिटेन्सन सेन्टर (घरफिर्ती केन्द्र) मा रहेका १६२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई कतारले आफ्नै खर्चमा नेपाल ल्याइदिएको हो । उनीहरुलाई फर्काउन कतार सरकारले कतार एयरवेजका २ वटा चार्टर्ड उडान गराइदिएको थियो ।

त्यस्तै कतार एयरवेजका १४६ जना नेपाली कर्मचारी स्वदेश फर्किएका छन् । कतार एयरवेजले जहाज चार्टर्ड गरी आफ्ना १४६ कर्मचारीलाई नेपाल पठाइदिएको खनालले जानकारी दिए । नेपाली लिएर आएका जहाजमा त्यहाँ रोजगारीको क्रममा ज्यान गुमाएका ३९ नेपालीको शव समेत पठाइएको उनले बताए । उनका अनुसार अझै कतारमा १९ नेपालीको शव व्यवस्थापन गर्न बाँकी छ । उनीहरुको उतै दांहसस्कार गर्नका लागि परिवारले सहमति दिइसकेका छन् ।

आफ्नै खर्चमा टिकट काट्न नसक्नेहरुको दूतावासले पहिचान गरिरहेको खनालको भनाइ छ । कम्पनी तथा संघसंस्थाहरुसँग समन्वय गरेर उनीहरुको समस्या समाधान गर्ने समेत उनले बताए ।

कतारमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख कटिसकेको छ । यद्यपि, अहिले संक्रमितमध्ये ९४ प्रतिशत निको भैसकेका छन् । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङ्क छैन । कोरोना संक्रमितमध्ये धेरैजसो नेपाली पनि निको भैसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *