काँग्रेस महाधिवेशन : देश संघीयतामा गएको ५ वर्षपछि काँग्रेस संघीयतामा जाँदै

मदन कोइराला
२८ असार २०७७ ११:२२

काठमाडौं। देशको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस देश संवैधानिक रुपमा संघीयतामा गएको पाँच वर्ष पूरा भएपछि संघीयतामा जाँदैछ। २०७२ मा नेपालको संविधान जारी भएपछि देश संघीयतामा गयो तर, काँग्रेस भने पुरानै संरचनामा छ।

गएको पुसमा काँग्रेसले विधान संशोधन गरेर संघीय संरचनाअनुसार पार्टीका समितिहरु बनाउने व्यवस्था गरे पनि महाधिवेशन आगामी फागुनमा हुने भएकाले हालसम्म त्यस्ता संरचना निर्माण भइसकेका छैनन्।

काँग्रेस केन्द्रीय सदस्य गोपाल दहितले देश पुनःसंरचनामा गएपछि बनेका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, संघीय संसद निर्वाचन क्षेत्र र प्रदेश समितिहरु बन्नुपर्ने भए पनि हालसम्म सबै जिल्लामा यस्ता संरचना नबनेको बताए। उनले हालसम्म ७ वटै प्रदेश समिति पनि नबनेको र जिल्ला टुक्रिएर नयाँ बनेको जिल्लामा जिल्ला कार्यसमिति पनि नरहेको बताए।

यसअघि तोकिएको महाधिवेशन कार्यतालिकाअनुसार यी संरचना बनिसक्ने थिए। तर, कोरोना महामारीका कारण कार्यतालिकाअनुसार कामहरु नभएपछि हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ कार्यतालिका बनाएको छ।

हाल काँग्रेसमा राज्यको पुनःसंरचनाअनुसार २६ वटा जिल्लामा समायोजन बाँकी रहेको केन्द्रीय सदस्य दहितले जानकारी दिए। उनले भने, ‘स्थायनीय तहमा पहिला गाविसहरु थिए, सोहीअनुसारका कार्यसमिति थिए। अब ती गाउँपालिका वा नगरपालिकाका वडा भएका छन्। त्यहाँ कार्यसमिति नै छैन।’

काँग्रेस नयाँ संविधान जारी भएपछिको स्थानीय तह निर्वाचन र आम निर्वाचनमा जाँदा केही स्थानीय तहमा संरचना नै थिएन। तर अब महाधिवेशन भएपछि काँग्रेस पूर्णरुपमा संघीय संरचनामा जाने दहित बताउँछन्। ‘हामीले संघीय संरचनामा जाने गरी पार्टीको विधान संशोधन गरिसकेका छौं। अधिवेशनले अब ती संरचना बनाएपछि काँग्रेस पूर्णरुपमा संघीय संरचनामा जानेछ।’

काँग्रेसका लागि यो महाधिवेशन निकै महत्वपूर्ण छ। किनभने यसअघिको तीन तहको निर्वाचनमा नराम्रो पराजय भोगेको काँग्रेस त्यतिबेला चुनावमा जाँदा केही स्थानीय तहमा पार्टीको कार्य समिति नै थिएन। तर, महाधिवेशनले अब ती सबै संरचना बनाउने काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले बताए।

उनले डिसी नेपालसँग भने, ‘नयाँ पुनःसंरचनाअनुसार हामीले सबै समितिहरु बनाउन सकेका थिएनौं। यो महाविधेशन सम्पन्न हुँदा देशमा काँग्रेसका सबै संरचनाहरु पनि तयार हुनेछन्। हाम्रो लागि यो एक नयाँ अनुभव पनि हुनेछ।’

काँग्रेसको विधानअनुसार महाधिवेशन गर्नुअघि स्थानीय तह हुँदै अधिवेशन शुरु गर्नुपर्ने हुन्छ। पार्टीको क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशनसम्म आइपुग्दा काँग्रेसलाई करिब एक वर्षको समय लाग्छ। त्यसैले यसअघि एक वर्षको कार्यतालिका बनाइएको थियो।

तर कोरोना महामारीका कारण कार्यतालिकाअनुसार कार्य सम्पादन नभएपछि नयाँ कार्यतालिका बनाइएको डा. महतले बताए। उनले भने, ‘अब हामीले संशोधित कार्यतालिका बनाएका छौं। कोरोना महामारी र वर्षाको समयमा पनि कार्य सम्पादन गरिसक्नुपर्ने बाध्यता छ।’

यस्तो छ संशोधित कार्यतालिका

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ श्रावण १० गते भित्र ।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७७ असार २५ गतेदेखि
२०७७ श्रावण मसान्तसम्म ।

(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि – २०७७ भाद्र मसान्तसम्म ।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि – २०७७ असोज १५ गते भित्र ।

(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ असोज मसान्त भित्र ।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि – २०७७ कात्तिक मसान्त भित्र

(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ मंसिर १५ गते भित्र ।

(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गतेभित्र ।

(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७७ मंसिर मसान्त भित्र ।

अधिवेशन :
(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते

(च) प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
(छ) केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *