दिनदिनै भेट्ने ओली-दाहालबीच चार दिनदेखि संवाद बन्द

मदन कोइराला
२९ असार २०७७ १०:५५

काठमाडौं। पार्टीभित्र चर्किएको विवाद मिलाउन जुट्नुपर्ने नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विगत चार दिनदेखि संवादहीनतामा छन्।

स्थायी कमिटी बैठक साउन दुई गतेसम्म स्थगित गरिएपछि दुई अध्यक्षबीच विवाद समाधानको विकल्प खोज्नुको साटो संवादहीनताको अवस्था आएको छ। अध्यक्ष दाहाल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र चितवनमा छन् भने प्रधानमन्त्री ओली सरकारको काममा व्यस्त छन्।

अझ बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका कारण जनधनको क्षति भएपछि प्रधानमन्त्री ओली व्यस्त भएका छन्। जसका कार कारण दुई अध्यक्षबीच संवाद हुन सकेको छैन।

‘स्थायी कमिटी बैठक स्थगित भएपछि प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच टेलिफोन संवाद पनि भएको छैन,’ दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले डिसी नेपालसँग भने, ‘उहाँ (दाहाल) आज काठमाडौं फर्किने कार्यक्रम छ, उहाँ फर्किएपछि प्रधानमन्त्रीसँग छलफल हुन्छ।’
२६ गते अघिसम्म प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दैनिक छलफल हुँदै आएको थियो।

स्थायी कमिटी बैठक साउन दुई गतेसम्म स्थगित गरिएपछि दुई अध्यक्षबीच विवाद समाधानको विकल्प खोज्नुको साटो संवादहीनताको अवस्था आएको छ। अध्यक्ष दाहाल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र चितवनमा छन् भने प्रधानमन्त्री ओली सरकारको काममा व्यस्त छन्।

यो बीचमा कार्यकर्तालाई राहत तथा उद्धारमा खटिन निर्देशन दिएको नेकपाले शीर्ष तहमा भने छलफल र संवादमार्फत पार्टी भित्रको विवाद समाधान गर्ने बताएको थियो। असार २६ गते स्थायी कमिटी बैठक बस्ने तय भएको थियो।

तर मुलुकका विभिन्न स्थानमा बाढी पहिलोका कारण जनधनको क्षति हुन थालेपछि त्यसैलाई आधार मानेर नेकपाले साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरेको थियो।

पछिल्लो समयमा नेकपाभित्रको आन्तरिक विवाद बढ्दै जाँदा स्थायी कमिटी बैठक स्थगित गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दैनिकजसो छलफल हुँदै आएका थिए। तर २६ गतेपछि प्रधानमन्त्री ओली र दाहालबीच संवाद हुन सकेको छैन।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आफूलाई भारतले हटाउन खोजको भन्ने अभिव्यक्ति दिएपछि विवाद उत्कर्षमा पुगेको थियो।

प्रधानमन्त्री ओलीले संसदका बजेट अधिवेशन अन्त्य गरेपछि पार्टी विभाजनको संघारमा पुगेको नेताहरुले बताएका थिए। त्यसपछि दोस्रो तहका नेताहरुले एकताका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

स्थायी कमिटी बैठक स्थगित गर्दै दुई अध्यक्षबीच सहमतिको प्रयास भइरहेको बेला पछिल्लो समय संवादहीनताको अवस्था आएको हो।
नेकपा स्थायी कमिटी सदस्य मणि थापा दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको र अब निकास निस्किने दिशामा अगाडि बढेको दाबी गर्छन्।

उनले अहिले दुई अध्यक्षबीचको यसअघिको छलफल समस्या समाधान गर्नेतिर केन्द्रित भएकाले सहमति उन्मुख भएको दाबी गरे। ‘उहाँहरुबीचको यसअघिको संवाद सहमति उन्मुख छ,’ थापाले डिसी नेपालसँग भने, ‘अब प्रचण्ड कमरेड फर्किएपछि थप छलफल गरेर सहमति खोज्ने काम हुनेछ।’

थापाले दुई अध्यक्षबीच करिव करिव सहमति भइसकेको दाबी गर्दै अब माधव नेपालको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *